
डि.एन.बी.
पोखरा ६, असोज
नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पोखराको फेवातालमा क्रुज संचालन गर्न सुझाव दिनु भएको छ । शनिवार पोखरामा पत्रकारहरूसंग संक्षिप्त कुराकानी गर्दै मन्त्री किराँतीले पोखरामा दैनिक दुई घण्टा जसो क्रुज संचालन गर्न सके प्रवल सम्भावना भएकोले क्रुज संचालन गर्न आग्रह गर्नु भएको हो । उहाँले यसबाट पोखराको पर्यटन प्रबर्द्धन हुने दाबि गर्नु भएको छ ।
हरेक साँझ दैनिक दुई वटा क्रुज फेवातालमा संचालन गर्न सकिने जसबाट साँझ क्रुजमैै डिनर पार्टी तथा रेष्टुरेन्टको सेवा समेत संचालन गर्न सकिने उहाँको भनाई थियो । यस बिषयमा पर्यटन मन्त्रालय सकरात्मक भएको बताउदै मन्त्री किराँतीले पोखराको नयाँ पर्यटकीय गन्तव्य संचालन गर्न सके पोखरामा पर्यटकको बसाई अबधि लम्विने दाबी गर्नु भयो । उहाँले भन्नु भयो “हामीले क्रुज सचालन गर्दा डुंगा व्यवसायीहरुलाई असर नपार्ने गरी सचालन गर्नु पर्छ, उहाँहरुले दीउसो डुंगा संचालन गर्नु हुन्छ भने क्रुज साँझ वा बेलुका २ देखि ३ घण्टासम्म तालमा घुमाउदै पर्यटकहरुलाई नयाँ आकषर्ण गर्न सकिन्छ ।
पोखरामा अन्तरास्ट्रिय हवाई उडानको लागी चिन सरकारसंग छलफल भएको उहाँले बताउदै चिनबाट काठमाडौं आएको जहाज पोखरासम्म ल्याउने गरि समेत उच्च स्तरमा छलफल भएको दाबी गर्नु भयो ।
न्यारो वडी जहाजबाट काठमाडौं दुबई पोखरा हुँदै मुस्ताङ पुगेर मुस्ताङको स्याउ पोखरा, काठमाडौं हुँदै दुबईसम्म लैजान सक्ने गरि हवाई उडानको लागि समेत गृहकार्य भएकोे मन्त्री किराँतीले बताउनु भयो । सरकारले सानो प्रकृतिको थप ३ वटा जहाज खरिद गर्ने योजनामा रहेको उहाँको भनाई थियो । जुन जहाज नेपालका २२ वटा विमानस्थललाई चलायमान बनाउदै दुर्गम क्षेत्रका मानिसहरुको उद्धार तथा सेवामा प्रयोग हुन सक्ने जसबाट राज्यलाई खासै आर्थिक रुपमा नाफा नभए पनि राज्यको दाहित्व त्यसबाट पूरा हुने उहाँको भनाई थियो ।