ताजा खबर

मनाङमा सचेतनाका लागि मैत्रीपूर्ण फुटबल सुरु 

मनाङ, २५ भदौ
हिमालपारीको जिल्ला मनाङमा हिउँ चितुवा संरक्षण र जलवायु परिवर्तन सम्बन्धि जनचेतनाका लागि हिमाली जिल्ला मनाङको लेक लाग्ने (हाइअल्टिच्युट) स्थानमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सुरु भएको छ ।  मनाङको चामे गाउँपालिका–१ तिमाङ खेल मैदानमा आज भएको खेलमा हिमालयन स्नो लियोप्याडले स्थानीय क्लब काजिनसरा याक लाई ४–३ गोल गरेको छ ।
दोस्रो दिन पिसाङमा र तेस्रो दिन मुङ्जी भ्राकामा प्रतिस्पर्धा हुनेछ । वन्यजन्तु संरक्षण गर्नलाई खेलको माध्यमबाट अभिप्रेरित गर्ने लक्ष्य लिइएको छ । जलवायु परिवर्तनका कारण धेरै समस्या देखा पर्न थालेपछि मनाङका स्थानीयले खेलको माध्यमबाट जनचेतना प्रदान गर्नका लागि मैत्रीपूर्ण फुटबल प्रतियोगिता गरिएको नमस्ते टुर्सका सञ्चालक एवं पर्यटन व्यवसायी संघ मनाङका अध्यक्ष विनोद गुरुङले बताउनु भयो । उहाँका अनुसार हिमाललाई सन्तुलनमा राख्न भूमिका खेल्ने उद्देश्यले हिउँ चितुवाको बासस्थान जलवायु परिवर्तनले प्रभाव पर्दा लोप हुने अवस्थामा रहेकाले चितुवा संरक्षण र जलवायु परिवर्तन सम्बन्धि सचेतना फैलाउन खेलको माध्यमबाट प्रचारप्रसार गर्न लागिएको हो । समुद्री सतहबाट दुई हजार नौ सय मिटर उचाईमा हिउँ चितुवा र याक संरक्षण गर्ने उद्देश्यले भदौ २५ देखि २७ गतेसम्म सञ्चालन हुने उहाँले बताउनु भयो ।
बायोकोषका निर्देशक पारस विक्रम सिंहले मानव तथा वन्यजन्तु द्वन्द्वलाई न्यूनीकरणमा चासोका साथ प्रकृतिको संरक्षणलाई सम्मान गर्दै स्थानीय समक्ष लोपोन्मुख हिउँ चितुवा लगायतका वन्यजन्तुको संरक्षणमा जनचेतना जगाउन कार्यक्रमले भूमिका अपेक्षा गरिएको बताउनु भयो ।
एन्ट फाउण्डेसन, वाइल्ड फ्रि र बायोकोसद्वारा मैत्रीपूर्ण फुटबल आयोजना गरिएको हो । मनाङको तिमाङ, पिसाङ र मुङजी मैदानमा हरि खड्का, अनिल गुरुङ, निरु थापा, अस्मिता रान्पाल, सीता तामाङ, उपेन्द्रमान सिंह लगायतका खेलाडीहरुले हाइअल्टिच्युटमा रहेको मैदानमा खेल्नु भएको हो । प्रतियोगितामा मिस नेपाल वल्र्ड २०२३ श्रीच्छा प्रधान फुटबल खेल्नु भएको छ ।
कोरियोग्राफर तथा मोडल एवं एन्ट फाउन्डेसनका निर्देशक प्रशान्त ताम्राकारले हिमाली क्षेत्रका लोपोन्मुख जनावरको संरक्षणका निम्ति मैत्रीपूर्ण खेलमार्फत सचेतना प्रदान गर्न प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । उहाँका अनुसार कलाकार, खेलाडी र स्थानीय खेलाडी बीच मैत्रीपूर्ण फुटबल सुरु भएको हो ।

Related posts