ताजा खबर

बैतडीको सिगास गाउँपालिकाका विद्यार्थीका पीडा ः ज्यान बाजी लगाएर न्वाघरी नदी तरेर बिद्यालय जान बाध्य

पोखरा २१ भदौ ।
“बाँचे विद्यालय पुगिन्छ, न्वाघरीमा बगे सेतीमा विलय भइन्छ” भन्ने मानसिकता बोकेर बैतडीको सिगास गाउँपालिका–७, साङडा र थलार गाउँका विद्यार्थी हरेक दिन बिहान झोला बोकेर बिद्यालय जान्छन। पश्चिम सेतीमा मिसिने न्वाघरी नदी तर्ने पुल नहुँदा ज्यानको बाजी लगाएर उनीहरु त्यो नदी तर्दै विद्यालय जान बाध्य छन् ।

त्यही न्वाघरी नदीले बगाएर तीन जना बिद्यार्थीहरुलाई बगाएर लगेको छ पनि। सिगास–७, साङडा र थलार गाउँमा कक्षा ३ सम्मको मात्र विद्यालय भएकाले माथिल्लो कक्षा पढ्न यहाँका ४० भन्दा बढी विद्यार्थी न्वाघरी नदी तरेर करिब एक घण्टाको दूरीमा रहेको सिगास–६, को गणेश माविमा धाउँदै आइरहेका छन् ।

विद्यार्थीलाई सोही गाउँकी शिक्षिका लक्ष्मी चन्दले नदी तराएर गणेश मावि लैजाने र ल्याउने काम गर्दै आएकी छिन् । गणेश माविमा नै अध्यापन गराउने भएको भएर शिक्षिका चन्दले ती बिद्यार्थीहरुलाई न्वाघरी नदी तराएर बिद्यालय लैजाने र घर फर्काउने गरेकी छिन्। उनी बिद्यार्थीहरुको लागि सहारा बनेकी छिन्।

नदी तर्ने स्थानबाट माथि हेरे मौरा भीर देखिन्छ, जहाँबाट हालसम्म दुई जनाको लडेर मृत्यु भइसकेको छ । न्वाघरीगाडमा बगेर तीन जनाको मृत्यु भइसकेको छ । भीरमा हिँड्ने बाटो छैन, नदी तर्ने पुल नहुँदा यहाँका विद्यार्थी हरेक दिन नदीमा हेलिदैं विद्यालय आवत–जावत गर्न बाध्य छन् ।

२०३२ सालमा स्वीकृति पाएर हाल एकसय ५० जना बिद्यार्थीहरु पढि रहेको गणेश माविमा हाल ४० जना विद्यार्थी सधैँ नदी तरेर विद्यालय आउनेगरेको विद्यालयका प्रधानाध्यापक कालुसिंह साउदले जानकारी दिए ।

पुलका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारका जनप्रतिनिधिसँग माग गरे पनि कुनै सुनुवाइ नभएको शिक्षिका चन्दले गुनासो गरिन्।

बैतडीको सिगास गाउँपालिका अहिलेसम्म यातायातसँग जोडिन सकेको छैन । वर्षेनी यहाँ न्वाघरीगाड र सेती नदीको बाढीले घरखेत र हिँडने बाटो बगाउने गरेको छ ।

बाढीले बैतडीको सिगास गाउँपालिका–७, भौनेलीपातलदेखि डोटीको आदर्श गाउँपालिका–६, पाङ बबिना जोड्ने पुल बगाएपछि अहिले यहाँका स्थानीय समस्यामा परेका छन् ।

पश्चिम सेती परियोजना बन्ने हल्लाले सिगासमा अहिलेसम्म विद्युतको राष्ट्रिय प्रसारण लाइनसमेत विस्तार हुन सकेको छैन । यहाँको विद्यार्थी टुकी बालेर पढ्न बाध्यछन् । बिजुली बत्ती नहुँदा सोलारले काम नगरेको दिन स्वास्थ्य संस्थामा मैनबत्ती बालेर सुत्केरी गराउनु पर्ने अवस्था रहेको छ ।

सातसय ५० मेघावाट क्षमताको जलाशययुक्त पश्चिमसेती जलविद्युत आयोजना सिगास गाउँपालिकामै रहेको छ । नेपाल सरकारले संरक्षित वनका रूपमा घोषणा गरेको सिगास संरक्षित वन पनि यही गाउँपालिकामा रहेको छ ।

न्वाघरी गाडामा पुल निर्माण गर्न स्थानीय सरकारको अगुवाइमा सङ्घ प्रदेश सरकारले सर्वेक्षण गरेको सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताए ।

Related posts