ताजा खबर

कक्षा १२ को पुरक परीक्षाको समय तालिका परिवर्तन

काठमाडौ २० भदौ ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११÷१२) ले कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षाको समय तालिका विशेष कारणले परिवर्तन भएको जनाएको छ ।

कार्यालयले आज एक सूचना जारी गरी राष्ट्रिय परीक्षा बोर्डले आउँदो असोज ६ गते शनिवार र ७ गते आइतवार सञ्चालन हुने भनिएको कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षा असोज ९ गते मङगलवार र १० गते बुधवार हुने जनाएको हो । परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने सूचनामा जनाइएको छ ।

विसं २०८० को कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा सहभागी हुनका लागि यही भदौ २२ गतेभित्र बोर्डको खातामा परीक्षा शुल्क बापत प्रति विद्यार्थी छ सय रुपैयाँका दरले हुन आउने रकम बुझाइसक्न पनि जनाइएको छ ।

यसैगरी त्यस अवधिभित्र रकम जम्मा गर्न छुटेका विद्यार्थीले यही भदौ २९ गते विलम्ब शुल्क सहितको रकम प्रति विद्यार्थी १ हजार २ सय रुपैयाँ बुझाइ सम्बन्धित विद्यालयमार्फत् भदौ ३१ गते कार्यालय समयभित्र बोर्डका सम्बन्धित कार्यालयमा रकम जम्मा गरेको भौचरसहित आवेदन फाराम बुझाइसक्नुपर्ने समेत सूचनामा उल्लेख गरिएको छ ।

Related posts