ताजा खबर

महेन्द्र मावि भलामद्वारा स्थानीय पाठ्यक्रममा आधारित सहजीकरण पुस्तिका वितरण

पोखरा, १३ भदौ

पोखरा महानगरपालिका वडा नं. २० स्थित महेन्द्र मा.वि.ले विद्यार्थीहरुलाई पठनपाठनमा सहज होस् भन्ने उद्देश्यका साथ यस वडाभित्रका १ देखि ५ सम्मका विद्यार्थीलाई स्थानीय पाठ्यक्रममा आधारित सहजीकरण पुस्तिका वितरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

विद्यार्थीलाई हौसला प्रदान गर्ने हेतुले सहजीकरण पुस्तिका वितरण गरिएको प्रधानाध्यापक बोधराज पौडेलले बताउनुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा सदस्य मिना पौडेलले यस्ता कार्यक्रमले विद्यार्थीको पढाइमा सहयोग पुग्ने र सकारात्मक सन्देश जाने बताउनुभयो । महेन्द्र मा.वि.ले यस्ता कार्यक्रमहरु ल्याई विद्यार्थीलाई हौसला प्रदान गरेकोमा विद्यालय परिवारलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले शिक्षाको क्षेत्रमा वडा कार्यालय सदैव अभिभावकको साथमा रहने समेत बताउनुभयो ।

उक्त अवसरमा विद्यालयका सहायक प्र.अ. प्रदीप खत्री, विद्यालय व्यवस्थापन समितिका सदस्य बाबुराम पौडेल, सल्लाहकार फडिन्द्र शर्मा, शिक्षक नारायण गौतम लगायतले बोल्नुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्र बहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन प्रधानाध्यापक बोधराज पौडेलले गर्नुभएको थियो । कार्यक्रममा २० नं. वडा भित्र रहेका विद्यालयका प्र.अ. र प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Related posts