ताजा खबर

जनैपूर्णिमा पर्व मनाउन पोखरा आउदै गरेका पोखराका एक युवाको पाल्पाको सुख्खा पहिरोमा परि मृत्यु

डि.एन.बी.
पोखरा १३, भदौं

जनैपूर्णिमा पर्व मनाउन गुल्मी देखि आफ्नो घर पोखरा आउदै गरेका युवाको पाल्पाको सुख्खा पहिरोमा परी ज्यान गएको छ । पोखरा महानगरपालिका २५ माथिल्लो हेम्जाका ३० वर्षीय बिनोद तिम्सिना जनैपूर्णिमा पर्व मनाउन बुटवल देखि पोखरा आउदै गर्दा पाल्पाको जोर्तेमा सुख्खा पहिरोले स्कार्पियो जीप पुरिदा उहाँको ज्यान गएको प्रहरीले जनाएको छ ।

गुल्मीको सिद्धबाबा माविमा कक्षा ११ तथा १२ को दरवन्दीमा बिज्ञान बिषयमा पठन पाठन गराउदै आउनु भएको तिम्सिनाले विगत ५ बर्ष देखि शिक्षण पेशा गर्दै आउनु भएको उहाँका आफन्त जीवन तिम्सिनाले एटुजेडलाई बताउनु भयो । विनोदको शव आज पोखरा ल्याउदै गरेको उहाँले बताउनु भयो । आज एक दिन उक्त शव पोखराको एक अस्पतालको शव गृहमा राखेर भोलि मात्र शव यात्रा सहितको अन्तिम दाहसंस्कार गरिने तयारी गरिएको पारिवारीक श्रोतले जनाएको छ । विनोदका बाबु, आमा, श्रीमती र ८ महिनाको छोरा हुनुहुन्छ ।

उक्त सुख्खा पहिरोले स्कार्पियो जीप पुरिदा विनोद सहित तीन जनाको मृत्यु भएको छ । गुल्मी रेसुङ्गा नगरपालिका ७ की ५० वर्षीय मनकला चुधारा र पाल्पा तानसेन नगरपालिका घरभई गुल्मीमा कार्यरत प्रहरी यम बहादुर बोहोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

तम्घासबाट बुटवलका लागि छुटेको लु १ ज ४६०० नम्बरको स्कारर्पियो आज बिहान रिब्दीकोट गाउँपालिका २ जोर्तेमा सुख्खा पहिरोले पुरिएर थियो । उक्त दुर्घटनामा अन्य आठ जना घाइतेहरूको अवस्था सामान्य रहेको स्थानियले बताउनु भयो ।

 

Related posts