ताजा खबर

पर्यटकको आकर्षण बन्दै ‘कालावाङ घरेडी’ होमस्टे

जीवन बराल
पोखरा १२ भदौ
पोखरा महानगरपालीका २२ पुम्दी भुम्दीमा पुग्ने आन्तरिक पर्यटक यहाँ सञ्चालित कालावाङ घरेडी सामुदायीक होमस्टेको खानपान र आतिथ्य सत्कारबाट प्रभावित हुने गरेका छन् ।
प्राकृतिक सुन्दरता, गुरुङ बाहुन र दलित समुदाय बाट सञ्चालित समावेशी होमस्टे र ग्रामीण जीवनशैलीको अध्ययन अवलोकन साथै पञ्चाशे पदयात्राका लागि पुग्ने पर्यटकको खानेबस्ने सुविधाका लागि स्थानीयवासीले होमस्टे सुरु गरेपछि यहाँ पुग्नेलाई सजिलो भएको छ ।

गुरुङ बाहुन र दलित समुदायको बसोबास रहेको कालावाङ घरेडी गाउँमा होमस्टे (घरबास) सञ्चालन गरिएको हो । कालावाङ घरेडीका १८ वटा घरमा ७० जना क्षमताको होमस्टे सञ्चालन गरिएको होमस्टेका अध्यक्ष एम बहादुर गुरुङ बताउछन् ।

‘होमस्टेमा आउने पर्यटक स्थानीय अर्ग्यानिक परिकार खान रुचाउँछन् । लोकल कुखुरा, ढिँडो, कोदोको सेल रोटी, मकै र भटमास, गुन्द्रुकको अचार, दही, दूध रोजाइमा पर्दछ’, अध्यक्ष गुरुङले भने, ‘एकपटक आएका पाहुना पटक–पटक आउनुहुन्छ ।’

गुरुङ बाहुन र दलित समुदायको मौलिक संस्कृति, ग्रामीण जीवनशैली, जैविक विविधता, वन्यजन्तु तथा पृष्ठभूमिमा देखिने हिमाल, पुर्वमा रमणीय पोखरा बजार र फेवातालको सुन्दरता कालावाङ घरेडी गाउँको आकर्षण हो । नजीकै रहेको पुम्दीकोट माहादेवको मुर्ती र विश्व शान्ति स्तुपाले पर्यटकलाई थप लोभ्याएको पाईन्छ ।

एक पटकमा ७० जनासम्म अटाउने क्षमता छ । पर्यटकको चाहनाअनुसार बेलुकाको खानापछि यहाँ विशेष गरी गुरुङ तथा ब्राह्मण जातिको मौलिक नाच र यूवा क्लवको नृत्य हेर्न पाइन्छ । होमस्टेले पर्यटकलाई सस्तो, सुलभ र पारिवारिक वातावरणले सहजता मात्रै थपिदिएको छैन, स्थानीयलाई रोजगारी पनि दिएको छ ।

होमस्टे सञ्चालक ऋृषि राम पौडेल भन्छन ‘सबै परिवार मिलेर होमस्टे सञ्चालनमा ल्याएका हौँ, लगानी गर्नु नपर्ने, आफ्नो गाउँ ठाउँमा उत्पादन भएको सागसब्जी, फलफूल, लोकल कुखुरा लगायतका अन्य परिकार, जो परिवारको लागि दैनिक बनाइन्छ । होमस्टेमा आउने अतिथि यसैमा रमाउँछन् । काम खोज्दै भौँतारिनु नपर्ने, अरू व्यापार, व्यवसायभन्दा सजिलो, हरेक दृष्टिकोणले फाइदा र सुरक्षित यसैमा भएकाले हामी उत्साहित छौँ ।’

पर्यटक आउन थालेपछि स्थानीयवासीले गाउँलाई सफा र सुन्दर बनाएको स्थानीय प्रान गुरुङ बताउछन् । स्थानीय जाप प्रसाद गुरुङ अरू व्यवसायभन्दा होमस्टेमा फाइदा देख्छन् । होमस्टे सञ्चालन तथा व्यवस्थापन सम्बन्धी तालिम तथा अन्य जिल्लाका होमस्टेको अवलोकन भ्रमण गरेका उनी कालावाङ घरेडी वासीको भविष्य होमस्टे व्यवसायले राम्रो बनाउनेमा विश्वस्त छन् । आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्न थालेपछि उत्साहित बनाएको उनि बताउछन् ।

पम्फा गुरुङलाई पहिलो पटक अतिथि आउँदा अत्यास लागेको थियो । तर, अहिले उनमा धेरै परिवर्तन आएको छ । तालिम र अभ्यासले उनलाई साहसी बनाएको छ । घरदेखि टोलसम्म सरसफाइदेखि अतिथि सत्कार, थरिथरिका परिकार बनाउन सिकाएको छ । पाखो बारीमा कोदो, फापर, तरकारी खेती, भैसी, कुखुरा पालनदेखि जुठेल्नोमा सागसब्जी लगाउन पम्फा गुरुङ आफैँले भ्याइरहेकी छन् ।‘यहाँको उत्पादन बिक्री गर्न कतै धाइरहनु पर्दैन । स्थानीयले सजिलै आम्दानी लिन सकिरहेका छन्,’ उनले भनिन् ।

होमस्टेमा बसेर फर्किएका स्याङ्जाका शशि कुमार पौडेल यहाँको वातावरण, गाउँलेको व्यवहार र प्राकृतिक सुन्दरताले लोभ्याइरहने बताउँछन् । उनि भन्छन्  पोखरा बजार देखि १३ कि.मी मात्र टाढा रहेको यस कालावाङ घरेडी गाँउ एकदमै रमाईलो लाग्यो ।

 

Related posts