ताजा खबर

२२ औं आहा रारा पोखरा गोल्ड कप बाट ३ लाख बचत

डि.एन.बी.
पोखरा १२, भदौ

गत पुष १४ देखी २३ गतेसम्म पोखरा रंगशालामा आयोजना भएको २२ औं संस्करणको आहा रारा पोखरा गोल्ड कप फुटवल प्रतियोगिता २०७९ बाट ३ लाख बचत भएको छ । पोखराको सहारा क्लवले गत बर्ष आयोजना गरेको उक्त प्रतियोगिताबाट ३ लाख १८ हजार ६ सय ५७ रूपैया बचत गर्न सफल भएको क्लवले मंगलबार पोखरामा आयोजना गरेको आय व्यय सार्वजनिक कार्यक्रममा जनाएको हो ।

९ दिन चलेको उक्त प्रतियोगिताबाट क्लवले ९४ लाख ६४ हजार ६ सय २६ रुपैया आम्दानी गर्न सफल भएकोमा प्रतियोगिता सम्पन्न गर्न विभिन्न शिर्षकमा ९१ लाख ४६ हजार ९ सय ६९ रुपैया खर्च भएको प्रतियोगिताका आर्थिक संकलन उप–समितिका संयोजक सुनिल गुरुङले बताउनु भयो । समग्र २२ औं आहा रारा पोखरा गोल्ड कपमा दर्शकको प्रबेश टिकटबाट मात्र १७ लाख ८६ हजार ९ सय ३० रुपैया संकलन भएको क्लवले जनाएको छ । संकटा क्लव काठमाण्डौं र भुटनीज युथ स्पोट्र्स क्लव बिच भएको फाइनल खेलमा मात्र १० लाख ६२ हजार ३ सय रुपैया प्रबेश शुल्कः वापत रकम संकलन भएको क्लवका अध्यक्ष हरिराम गुरुङ (सुरज) ले बताउनु भयो ।

हिमश्री फुड्स प्रा.लि.को मुख्य प्रायोजनमा सम्पन्न भएकोे प्रतियोगितामा १० टिम सहभागि रहेको थियो भने प्रतियोगितामा संकटा क्लव काठमाण्डौंले उपाधि सहित १२ लाख नगद हात पार्न सफल भएको थियो । बचत भएको उक्त रकम क्लवले सहारा एकेडेमीमा खर्च गर्ने भएको क्लवका संस्थापक अध्यक्ष बसन्त थकालीले बताउनु भयो । हिमश्री फुड्स प्रा.लि.बाट २२ लाख २५ हजार, पोखरा महानगरपालिकाबाट १० लाख, राखेपबाट ५ लाख ५० हजार, प्रदेश खेलकुद परिषद गण्डकीबाट ५ लाख, पब्लिक फोके टि.भि.बाट ५ लाख, सहारा क्लव हङकङबाट ३ लाख गोख्रा ब्रअरीबाट ३ लाख लगायतका विभिन्न संघ संस्थाबाट आहा रारा पोखरा गोल्ड कपलाई सफल पार्न सहयोग प्राप्त भएको कोषाध्यक्ष नवराज अधिकारीले बताउनु भयो ।

खेलाडी दैनिक भ्रमण खर्चको शिर्षमा अधिकत्तम ३० लाख २३ हजार ३ सय रुपैया, प्रतियोगिताको पुरस्कार सहित प्रोत्साहन खर्चमा १९ लाख ६० हजार, आयोजक टिमको खर्चमा ८ लाख ६३ हजार ४ सय १, प्रचार प्रसारमा ५ लाख २९ हजार ५ सय, रेफ्रि खर्चमा ६ लाख ६ हजार ६ सय ६० रुपैया खर्च भएको सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । हिमश्री फुड्स प्रा.लि.का निर्देशक प्रकाश केसीले कार्यक्रममा बोल्दै क्लवलाई २१ बर्ष देखि साथ दिदै आएकोमा क्लवको निस्वार्थ भावले खेलकुदमा लागेकोले उक्त सहयोगलाई निरन्तरता दिने बताउनु भयो । प्रतियोगिता संयोजक केशवराज बरालले एन्फाले क्लवलाई ६ महिना अघि नै आहा रारा पोखरा गोल्ड कपको मिति तय गरिदिएको खण्डमा आफुहरुले विदेशी टिम सहितको उत्कृष्ट फुटवल प्रतियोगिता आयोजना गर्ने दाबी गर्नु भयो । सहारा क्लब पोखराद्वारा संचालिन सुर्य बहादुर के.सी. स्मृति सहारा फुटवल एकेडेमीको सहयोगार्थ आयोजना हुने आहा रारा पोखरा गोल्ड कप माघ र फाल्गुणमा हुने हाम्रो समय तालिका भएको क्लवले जनाएको छ । एकेडेमीमा हाल १० जना वालकहरु रहेको क्लवले एटुजेडलाई जनाएको छ । यसैबिच एन्फा गण्डकी प्रदेशका उपाध्यक्ष मिलन गुरुङलाई क्लवले उक्त अवसरमा खादा लगायर बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको शुभकामना समेत प्रदान गरेको छ ।

 

Related posts