ताजा खबर

तायाः मचा नृत्य प्रतियोगितामा ३० टिमको सहभागिता हुने, पुरस्कार राषिमा बृद्धि, विजेता हुनेलाई नगद ३ लाख पुरस्कार

डि.एन.बी.

पोखरा ११, भदौं

पर्यटकीय नगरी पोखरामा गाईजात्रा पर्वको अवसरमा यस बर्ष पनि तायाः मचा नृत्य प्रतियोगिता २०८० हुने भएको छ । रानीपौवा ताया गया नाँच समितिको आयोजनामा यही भदौं १६ गते उक्त प्रतियोगिता हुने भएको सोमबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।

उक्त प्रतियोगिता पोखरा महानगरपालिका सहित कास्कीका अन्य गाँउपालिका गरी पुरुष तर्फ २१ र महिला तर्फ भने ९ टिम सहित ३० टिमको सहभागिता हुने भएको प्रतियोगिताका मुल संयोजक ईश्वर प्रसाद कर्माचार्यले बताउनु भयो । यस बर्ष पुरस्कार राषिमा भने भारी बृद्धि गरिएको उहाँले बताउनु भयो । प्रतियोगितामा यस बर्ष विजेता हुने पुरुष तर्फको टीमले ३ लाख १ रुपैया, दोश्रो हुने समुहलाई २ लाख १ रुपैयाँ, तेश्रो हुनेलाई भने १ लाख १ रुपैयाँ र सान्त्वना हुने समुहलाई ३० हजार रुपैयाँ पुरस्कारको प्रदान गरिने भएको संयोजक कर्माचार्यले जनाउनु भयो । गत बर्ष विजेताले ३० हजार, दोश्रो हुनेले २० हजार पुरस्कार प्राप्त गरेका थिए ।

त्यसै गरी महिला तर्फ विजेता हुनेलाई ४० हजार १ रुपैया, दोश्रो हुनेलाई २० हजार १ रुपैयाँ, तेश्रो हुनेलाई १० हजार १ रुपैया प्रदान गरिने भएको प्रचार संयोजक सुभाष तझ्याले बताउनु भयो । यस वर्ष देखि प्रतियोगिताको लागि पोखरा तेसांपट्टी निवासी तीन दाजुभाइ रामकाजी श्रेष्ठ, रविन्द्र श्रेष्ठ र शंकर श्रेष्ठले आफ्ना आमाबुबा स्व. हेम कुमान बालकुमारीको स्मृतिमा १० लाख रकम सहयोग गर्नु हुने भएको छ । उहाँहरुले उपलब्ध गराएको उक्त रकम मध्ये प्रतियोगिताको पुरस्कारमा समेत खर्च हुने भएको प्रचार संयोजक तझ्याले बताउनु भयो ।

नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखे भक्तपुरबाट पोखरामा आई बसोबास गरेका ९५ प्रतिशत नेवारी समुदाय भएको दाबी गर्नु भयो । २०५६ साल देखि पोखरामा तयाः माचा नृत्य प्रतियोगिता निरन्तर रुपमा हरेक बर्ष विभिन्न टोलका तयाः मचा समितिहरुले आयोजना गर्दै आएको उहाँले बताउनु भयो । उक्त प्रतियोगिताले पोखराको पर्यटन प्रबद्र्धन गर्न टेवा पुग्ने अध्यक्ष पालिखेले दाबी गर्नु भयो । कार्यक्रमको मुख्य प्रवर्द्धकको रुपमा पोखरा महानगरपालिका, प्रवर्द्धकहरुमा पो.म.न.पा वडा नं. ११ र गण्डकी प्रज्ञा प्रतिस्थान रहेका छन । त्यसै गरी मुख्य प्रायोजकमा बुद्ध एयर, प्रायोजकहरुमा मनिपाल कलेज, गण्डकी मेडिकल कलेज रहेको संयोजक कर्माचार्यले बताउनु भयो ।

यसै सन्दर्भमा नेवार समुदायमा सबैजसो चार्डपर्व एवं जात्राहरुको सुरुवात गाठे मंगल (घण्टाकर्ण) वाट प्रारम्भ हुन्छ । श्रावण शुक्ल पूर्णिमा देखि भाद्र अष्ठमी गरि नौ दिन सम्म मनाईने चाडलाई गुपुन्हि (गुन्हिं पुन्हि) भनिन्छ । यहि समय नौ थरी गेडागुडी मिसाएर पकाइने स्वादिष्ट क्वाटी तयार हुन्छ। असार र श्रावण वर्षातको महिना खेतीपाती रोपाईको काम गर्दा पानीले भिज्ने र हिलो महिलो हुने हुँदा शरिरलाई चिसोबाट बचाउन र पौष्टिकता प्रदान गर्न उपयोगी हुने हुँदा क्वाँटी खाइन्छ । आगामी बर्ष नयाँ बजारमा उक्त प्रतियोगिता हुने भएको छ । पोखरामा पनि भदौं १५ गते गाईजात्रा हुने भएको छ । भदौं १४ गते भने जर्नी पूर्णिमा पर्व परेको छ ।

Related posts