ताजा खबर

पोखरामा अन्तराष्ट्रिय क्रिकेट मैदान निर्माण भए वल्र्ड कपका केही खेल पोखरामा हुन सक्छः अध्यक्ष चन्द

डि.एन.बी.
पोखरा ६, भदौं

पोखरामा अन्तराष्ट्रिय क्रिकेट मैदान निर्माण भएको खण्डमा यहाँ वल्र्ड कपका केही खेलहरु संचालन गर्न सकिने भएको नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले बताए । गण्डकी प्रादेशिक क्रिकेट संघको बुधबार पोखरामा भएको दोश्रो अधिवेशन तथा बार्षिक साधारण सभामा वोल्दै उनले काठमाण्डौं पछि दोश्रो रोजाईमा रहेको पोखरामा अन्तराष्ट्रिय क्रिकेट मैदान निर्माण भएको खण्डमा ३ बर्ष पछि हुने यू—१९ महिला वल्र्ड कप क्रिकेटको केही खेल पोखरामा पनि गर्न सकिने बताएका हुन् ।

अध्यक्ष चन्दले आगामी सन २०२७ मा नेपालमा हुने यू—१९ महिला वल्र्ड कप क्रिकेट प्रतियोगिता काठमाडौं र पोखरामा हुने सम्भावना रहेको उल्लेख गरे । काठमाण्डौंको मुलपानी वान डे खेलको उपयुक्त मैदान भएको बताउदै उनले पोखरामा हिमश्रृखला सहितको अति सुन्दर दृश्यले गर्दा काठमाण्डौं पछि प्रायः सबैको दोश्रो रोजाइमा पर्ने भएकोले यहाँ अन्तराष्ट्रिय क्रिकेट मैदान बनाउन आवश्यक भएको जनाए । पोखरामा खेल पर्यटनको विकास गर्न पनि अन्तराष्ट्रिय क्रिकेट मैदान आवश्यक भएको उनको भनाई थियो ।

संघ भएको हरेक जिल्लामा कम्तिमा एक प्रशिक्षक व्यबस्था हुनुपर्ने उनले बताए । हाल ११ जिल्लामा खेल प्रशिक्षक दिएको भए पनि अब भने एक बर्ष भित्र ४५ जिल्ला भित्र पुराउनु पर्ने उनको जोड थियो । संघको गठन भएसंगै कम्तिमा एक जिल्ला एक जना प्रशिक्षक विना क्रिकेट खेलको विकास नहुने अध्यक्ष चन्दले बताए । जिल्ला र प्रदेशलाई वाई पास गरेर क्रिकेट खेलको दिगो रुपमा विकास गर्न नसकिने अध्यक्ष चन्दले बताए ।

क्रिकेटको चुनाबी माहोल बढेको बताउदै उहाँले क्रिकेट गतिविधिमा भने आच आउन दिन नहुने उल्लेख गरे । आफु २० बर्ष क्रिकेटमा लागेको उल्लेख गर्दै अध्यक्ष चन्दले पुनः अध्यक्षको जिम्मेवारी सम्हाल्न तयार रहेको आशय व्यक्त गर्दै अब क्रिकेट नेपालका राजनीति दलले समेत बुझेको दाबी गरे । सबैको एक मात्र आशा र अपेक्ष क्रिकेटमा राम्रो गर्नु पर्यो भन्ने रहेकोले अब आउने नयाँ कार्यसमितिले त्यसलाई मनन गर्नूपर्ने उनको बुझाई छ ।

प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङले उक्त कार्यक्रमको उद्घाटन गर्दै अझै खेलकुदमा संघियताको नआएको भान भएको गुनासो गरे । प्रदेशमा हुने कुनै पनि प्रदेश स्तरिय तथा राष्ट्रिय एवं अन्तराष्ट्रिय प्रतियोगिता गर्दा आवश्यक समन्वय वा अनुमती लिन उनले आग्रह गरे । पोखरामा अन्तराष्ट्रिय क्रिकेट मैदान निर्माण गर्न सके पोखराको खेल पर्यटनको विकास हुने उपाध्यक्ष गुरुङको भनाई थियो ।

गण्डकी प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालयका माहाशाखा प्रमुख घनश्याँम पौडेलले पोखरामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गर्न आवश्यक भएको बताए । मन्त्रालयबाट क्रिकेट मैदान निर्माण गर्न ५० लाख र प्रादेशीक खेल मैदानको शिर्षकमा ४० लाख बजेट विनियोजन भएको उनको भनाई थियो । क्रिकेटका नेपाली राष्ट्रिय पूर्व प्रशिक्षक जगत टमटाले पोखरा आफैमा फरक क्रिकेट मैदान जहाँबाट हिमश्रृखला देख्न सकिने अन्तर्राष्ट्रिय केन्द्र पोखरा बन्न सक्ने दाबी गरे । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले सम्भावना भएका खेलमा बढी लगानी गर्न आवश्यक भएको जनाए ।

कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष संजयकान्त सिग्देलले नेपाली क्रिकेटले राख्दै गरेको साख जोगाउदै राम्रो गर्न चुनौती थपिएको बताए । पोखरामा अन्तरास्ट्रिय क्रिकेट मैदान आवश्यक भएको उनको भनाई थियो । संघ प्रदेशका अध्यक्ष देवेन्द्र प्रजुको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको थियो ।

Related posts