ताजा खबर

तिजको अवसरमा पोखराको लामाचौरमा हुने राष्ट्रिय भलिबल प्रतियोगिता महिला तथा पुरुष तर्फ ५÷५ टिम सहभागि हुने

डि.एन.बी.

पोखरा ५, भदौं

महिलाहरुको महान पर्व हरितालिका तिज पर्वको अवसरमा पोखराको लामाचौरमा यस बर्ष पनि आयोजना हुने राष्ट्रिय भलिवल प्रतियोगितामा महिला तथा पुरुष तर्फ ५÷५ टिमको सहभागिता हुने भएको छ । नव आदर्श सामुदायिक विकास समाज लामाचौरको आयोजनामा यही भदौ ३० देखि असोज १ गते सम्म संचालन हुने उक्त प्रतियोगितमा महिला तथा पुरुष तर्फ ३÷३ विभागीय सहित ५÷५ टिमको सहभागिता हुने भएको समाजका अध्यक्ष स्वागतमानसिंह भण्डारीले बताउनु भयो ।

लामाचौर तिज महोत्सवको अवसरमा आयोजना हुने उक्त प्रतियोगितामा महिलातर्फ ३ विभागिय टीम नेपाल पुलिस क्लव, नेपाल आर्मीको त्रिभुवन क्लव, सशस्त्र प्रहरीको एपिएफ क्लव, न्यू डायमण्ड एकेडेमी र न्यू एभरेष्ट भलिबल क्लव बुटवलको सहभागिता हुने तयारी गरिएको समाजले एटुजेडलाई जनाएको छ । त्यसै गरी पुरुष तर्फ भने पनि ३ विभागिय टीम नेपाल पुलिस क्लव, नेपाल आर्मीको त्रिभुवन क्लव, सशस्त्र प्रहरी वलको एपिएफ क्लव, गण्डकी प्रदेश र मणीमुकुन्द क्लव बुटवलको सहभागिता हुने तयारी गरिएको अध्यक्ष भण्डारीले उल्लेख गर्नुभयो । राष्ट्रिय भलिबल प्रतियोगितामा महिला र पुरुषतर्फ उपाधि विजेतालाई जनही १ लाख ५० हजार १ सय ११ रुपैया साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ ।

त्यसै गरी दोश्रो हुने टिमलाई जनही १ लाख १ सय ११ र तेश्रो हुनेलाई जनही ५० हजार १ सय ११ रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गनिरे भएको अध्यक्ष भण्डारीले बताउनु भयो । समाजले लामचौर तिज महोत्सवको अवसरमा उक्त भलिवल प्रतियोगिता विगतल लामो समय देखि निरन्तर रुपमा आयोजना गर्दै आएको छ । समाजले महोत्सव सहितको भलिवल प्रतियोगिता सम्पन्न गर्न आर्थिक सहयोग संकलन गर्ने अभियानमा हाल लागि रहेको पूर्व अध्यक्ष बुद्धी बहादुर खत्री क्षेत्रीले बताउनु भयो । तिज पर्वमा आफुहरुले समाजमा रहेका युवाहरुलाई खेलकुदको माध्यमबाट समाजमा केही परिवर्तन गर्न सकिन्छ भन्ने सन्देस दिन पनि खेलकुदलाई निरन्तरता दिदै आएको उहाँले जनाउनु भयो ।

समाजले भलिबल प्रतियोगिता संगै अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता, अन्तर महिला समुह तिज गित प्रतियोगिता, सितोरियो कराँते प्रतियोगिता, स्रष्टा सम्मान, सांस्कृतिक कार्यक्रमहरु लगायतका कार्यक्रमहरु गर्न करिब ५० लाख खर्च लाग्ने समाजले जनाएको छ । इन्द्रराज्य लक्ष्मी माविको परिसरमा हुने लामाचौर तिज महोत्सवको अवसरमा विभिन्न खेलकुदको साथमा अन्य मनोरन्जनका कार्यक्रमहरु समेत हुने भएको पूर्व अध्यक्ष संजयकुमार अधिकारीले बताउनु भयो । समाजले विगत लामो समय देखि एम्बुलेन्स र शव वहान समेत संचालन गर्दैै आएको छ ।

 

Related posts