ताजा खबर

पोखराको पर्यटन उकालो लाग्दै

डि.एन.बी.
पोखरा १३, चैत

कोरोनाबाट थलिएको पोखराको पर्यटन क्षेत्र विस्तारै उकालो लाग्दै छ । कोरोनाबाट अघिल्लो दुई बर्ष निकै कम पर्यटक आगमन भएको पोखरामा चालु आर्थिक बर्षमा उत्साहजनक रुपमा पर्यटक आगमन हुन थालेको छ । पोखरा आउने समग्र पर्यटकहरुको तथ्याङक हालसम्म कुनै निकायले पनि राख्न (अध्यावधिक) गर्न नसकेको अबस्थामा पोखराका केही पर्यटकीय स्थल तथा विमानस्थलसंग मात्र केही तथ्याङकहरु रहने गर्दछ ।

पोखराका पर्यटकीय गन्तव्यहरु मध्यको एक हो पोखरा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय । पोखराको मानव निर्मित पर्यटकीय गन्तव्यमा निकै आकर्षणको केन्द्र भएको उक्त संग्रहालयमा पछिल्लो समयमा विदेशी सहित सार्क मुलुक र आन्तरिक पर्यटक आगमनमा बृद्धि भएको छ । चालु आर्थिक बर्षको चैत महिनाको पहिलो सातासम्म उक्त संग्रहालयमा १० हजार ६ सय ६० जना विदेशी पर्यटक भित्रिएका छन भने अघिल्लो दुई बर्षमा ४ हजार ५ सय ३४ जना मात्र विदेशी पर्यटकहरु भित्रिएको संग्रहालयले दिएको तथ्याङकमा उल्लेख छ । यसरी हेर्दा अघिल्लो २०७७÷०७८ मा २ सय ३० विदेशी पर्यटक संग्रहालयमा भित्रिएका थिए भने गत बर्ष २०७८÷०७९ मा ४ हजार २ सय ८४ जना पर्यटक भित्रिएका थिए । विदेशी पर्यटकको हकमा पछिल्लो दुई बर्षको तथ्याङक हेर्दा चालु बर्षको करिब ८ महिनामा ५७.४६ प्रतिशतले बढी पर्यटक भित्रिएका छन्।

उक्त संग्रहालयमा अवलोकन गर्न आउने विदेशी पर्यटक, सार्क मुलुकका र आन्तरिक पर्यटक तथा बिद्यार्थीहरुको सङख्यामा बढोत्तरी भएको पोखरा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयकी कार्यकारी निर्देशक निर्मला न्यौपानेले बताइन्। कोभिड पछि विस्तारै पोखरा घुमघामा आउने पर्यटकहरुको सङख्यामा समेत बृद्धि भएको उनले एटुजेडलाई जनाइन्।

चालु आर्थिक बर्षको चैत महिनाको पहिलो सातासम्म उक्त संग्रहालयमा विदेशी, सार्क मुलुकका सहित आन्तरिक पर्यटक गरी १ लाख ४६ हजार ६ सय ८ जना पर्यटक भित्रिएका छन्। १४ हजार ५ सय १३ जना सार्क मुलुकका पर्यटक, १० हजार ६ सय ६० तेश्रो मुलुकका विदेशी पर्यटक, ३४ हजार ९ सय ८० जना नेपाली पर्यटक, बिद्यार्थीहरु ८० हजार ९ सय २४, निःशुल्क रुपमा ५ हजार ९ सय ६४ जना पर्यटक उक्त संग्रहालयमा अवलोकन गरेका छन्।

गत बर्ष उक्त संग्रहालयमा सार्क मुलुकका १६ हजार ५ सय ३३, नेपाली ५० हजार ५ सय ४२, बिद्यार्थी ५८ हजार ६ सय ५१ जना अवलोकन गर्न भित्रिएका संग्रहालयले दिएको तथ्याङकमा जनाइएको छ । त्यसै गरी आर्थिक बर्ष २०७७÷०७८ मा विदेशी २ सय ३०, सार्क मुलुकका १ हजार २३, नेपाली २८ हजार २ सय ५६, १३ हजार ३ सय ३९ जना बिद्यार्थी सहित ४५ हजार ६ सय २ जना पर्यटकहरुले संग्रहालयमा अवलोकन गरेका थिए । त्यसै गरी आर्थिक बर्ष २०७६÷०७७ मा २० हजार २ सय ४३ जना विदेशी सहित १ लाख ८९ हजार ७ सय १६ जना पर्यटक संग्रहालयमा भित्रिएका थिए ।

संग्रहायलमा २०७५÷७६ मा सबै भन्दा बढी पर्यटक आगमन भएको थियो । २०६०÷०६१ बाट संग्रहालयमा पर्यटकहरुको लागि खुल्ला गरेसंगै २० बर्षको दौरानमा सबै भन्दा धेरै २०७५÷७६ मा ३१ हजार २ सय ३० जना विदेशी, २९ हजार २ सय ८१ सार्क मुलुकका सहित २ लाख ६९ हजार ६ सय ३८ जना पर्यटकहरु संग्रहालय भित्रिएका थिए ।

पोखरामा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय आन्तरिक तथा बाह्यि पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । हिमाली क्षेत्रका कलदा संस्कृति भेषभुषा सहितका गतिविधिको पहिचान झल्किने गरी पोखरामा स्थापना गरिएको उक्त संग्रहालयमा अध्ययन अवलोकनका लागि पर्यटकहरु आउने गर्दछन्। संग्रहालयमा कोरीया, जापान, ताइवान सहितका विदेशीहरुको समेत कला संस्कृति र भेषभुषा झल्कने बिषय बस्तु राखिएको संग्रहालयकी कार्यकारी निर्देशक न्यौपानेले एटुजेडलाई बताइन्।

संग्रहालय प्रबेश गरेको विदेशीलाई ५ सय, सार्क मुलुकका पर्यटकलाई २ सय ५०, नेपाली पर्यटकलाई १ सय, बिद्यार्थीहरुको लागि ५० रुपैया शुल्कः रहेको उनले जनाइन्। त्यसै गरी संग्रहालय परिसरमा रहेको गार्डेनमा मात्र प्रबेश गर्दा भने ३० रुपैया शुल्क लाग्ने गर्दछ ।

 

Related posts