ताजा खबर

पार्किङ व्यवस्थापन जित र हारको विषय होइन- प्रमुख आचार्य

पोखरा, २४ माघ

पोखराको मुख्य बजार क्षेत्र पृथ्वीचोक–सभागृहचोक–न्युरोड–विपीचोक–महेन्द्रपुल–नयाँ बजार हुँदै पृथ्वी चोकसम्मको सडकमा भइरहेको पार्किङ व्यवस्थापनका विषयमा सरोकारवाला निकायहरूसँग छलफल गरिएको छ ।

छलफलमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सहरलाई सुन्दर बनाउने अभियानबाट पोखरा महानगरपालिका पछाडि नफर्कने स्पष्ट पार्नुभयो । ‘पोखराको मुख्य क्षेत्रबाट सुरु गरिएको पार्किङ व्यवस्थापनलाई बिस्तारै पोखराका अन्य क्षेत्रहरूमा पनि विस्तार गरिनेछ, प्रमुख आचार्यले भन्नुभयो, सहर सुन्दर हुनै पर्छ, यो जित र हारको विषय होइन, यो त पोखराको भविष्यसँग जोडिएको विषय हो । सबैले समन्वय गरेर यसलाई कार्यान्वयन गर्नुको विकल्प छैन ।’ सडक पार्किङको विकल्पका रूपमा तोकिएको क्षेत्रमा पर्याप्त मात्रामा अन्डरग्राउन्ड पार्किङहरू रहेका र तिनीहरूमा महानगरले आवश्यक समन्वय गरिरहेको प्रमुख आचार्यले बताउनुभयो ।

उहाँले यसबाहेक यी क्षेत्रमा रहेका खाली जग्गाहरूलाई समेत पार्किङका लागि व्यवस्था गरिएको बताउनुभयो । जग्गाधनीहरूले ती जग्गामा स्थायी संरचना निर्माणका लागि नक्सा सहित आए महानगर २४ घण्टा भित्र खालि गरिदिने गरी समन्वय गरेको उहाँले बताउनुभयो । हाल तोकिएको पार्किङ शुल्कका विषयमा सम्बन्धित सरोकारवालाहरुसंग छलफल गरेर उपयुक्त शुल्क निर्धारण गरिने प्रमुख आचार्यले जानकारी दिनुभयो । पोखरा सभागृह, पोखरा प्रदर्शनी केन्द्र र सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र नयाँबजार लगायतका केही स्थानमा अर्को व्यवस्था नभएसम्मका लागि निःशुल्क पार्किङको व्यवस्थापन गरिएको छ ।

यातायात व्यवस्था कार्यालय सवारी कास्कीका प्रमुख डिल्लीराज रिजालले कुवै पनि व्यवसायीले आफ्नो व्यवसाय सञ्चालनका दौरानमा आफ्ना सेवाग्राहीहरूका लागि आवश्यक पार्किङको व्यवस्था गर्न जरुरी रहेको स्मरण गराउनुभयो । व्यापार तथा व्यवसायका नाममा हुने कुनै पनि प्रकारको सार्वजनिक अवरोध स्वीकार्य नहुने बताउँदै वैकल्पिक उपायहरूको अवलम्बन गर्न बुद्धिमानी हुने उहाँले बताउनुभयो । पार्किङ व्यवस्थापनका लागि महानगरले उपयुक्त समयमा सही कदम चालेको उहाँले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत दीपक रेग्मीले पोखराको पहिचान व्यवस्थित सहर र मर्यादित नागरिक भन्ने बनाउने हो भने सडकमा भइरहेको पार्किङलाई व्यवस्थापन गर्नुको विकल्प नभएको बताउनुभयो । ‘पोखरा गण्डकी प्रदेशको हब हो, नजिकबाट हेर्नेहरूका लागि यो गण्डकी प्रदेशको अनुहार हो, उहाँले भन्नुभयो, पोखरालाई सुन्दर सहरका रूपमा विकास गर्ने हो भने मेरो व्यवसाय के होला, कसो होला भन्न थालियो भने सुधार सम्भव हुदैन्, त्यस कारण मेरो र म भन्दा माथि उठ्न जरुरी छ ।’

पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवन प्रजापतिले महानगरले एक्कासि पार्किङ निषेधको सूचना जारी गर्दा व्यवसायीहरूमा त्रासको वातावरण सृजना भएको उल्लेख गर्नुभयो । सडकमा एकतर्फी भए पनि पार्किङको व्यवस्था गर्नु पर्ने जोड दिँदै अध्यक्ष प्रजापतिले आफूहरू यसको सम्बन्धमा आवश्यक सहजीकरण गर्न तयार रहेको बताउनुभयो । महानगरको योजना सकारात्मक भए पनि तत्काल पार्किङ विस्थापन गरी व्यवसायीहरूलाई थप शिथिल बनाउन नहुने उहाँले बताउनुभयो ।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्था कार्यालय गण्डकीका प्रहरी नायव उपरीक्षक इन्द्र प्रसाद सुवेदीले ट्राफिक व्यवस्थापनका लागि व्यवसायीहरूको सकारात्मक सहयोग हुनु पर्ने बताउनुभयो । सहरलाई सुन्दर र व्यवस्थित बनाउने जिम्मेवारी व्यवसायीको समेतहुनेभएका कारण महानगरको यस प्रयासलाई सबैले सहयोग गर्नु पर्ने बताउनुभयो । सडकमा भइरहेको पार्किङलाई व्यवस्थापन गरियो भने दुर्घटनाको जोखिम समेत कम हुने उहाँले बताउनुभयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक प्रकाश शाहले मुख्य बजार क्षेत्रहरूको सडकमा गरिएको अव्यवस्थित पार्किङका कारण व्यवस्थापनमा समस्या भइहरेको बताउनुभयो । मुख्य समस्या भनेको पोखराको मुख्य भाग महेन्द्रपुल चिप्लेढुंगाको सडकमा भएको अव्यवस्थित पार्किङ नै हो, शाहले भन्नुभयो, यसको व्यवस्थापन नभएका कारण महेन्द्रपुलको ट्राफिक लाइट समेत सञ्चालनमा ल्याउन सकिएको छैन ।’ प्रमुख शाहले सडकको पार्किङ व्यवस्थापनका कारण व्यापार व्यवसायमा कुनै प्रकारको असर नपर्ने बताउनुभयो ।

पार्किङ व्यवस्थापनका लागि ३ दर्जन बढी अन्डर ग्राउन्ड र दर्जन बढी खाली जग्गाहरूमा पर्याप्त व्यवस्था गरिएको महानगरपालिकाले जनाएको छ । पोखराको पृथ्वीचोक–सभागृहचोक–न्युरोड–विपीचोक–महेन्द्रपुल–नयाँबजार हुँदै पृथ्वीचोकसम्म हाल ८८७ दुई पाङ्ग्रे सवारी र ३३६० दुई पाङ्ग्रे सवारी साधानहरु पार्किङ गर्न सकिने व्यवस्था मिलाइएको छ ।

Related posts