ताजा खबर

प्रतिभा माविमा सरस्वती पूजा

पोखरा १२, माघ

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व विहीबार देशभर मनाइएको छ । यहाँको पालिखेचोकस्थित प्रतिभा माविमा पनि विहीबार पूजा–आराधना गरि भव्य रुपमा श्रीपञ्चमी पर्व मनाईएको छ ।

प्रतिभा माविका प्राचार्य किरण सापकोटाका अनुसार विद्यालयमा विहीबार बिहानदेखि पूजा–आराधना गरिएको थियो । देवी सरस्वतीको स्वरुपमा सजिएर विद्यार्थीहरुले विद्यालयमा पूजाआजा गरेका थिए । विद्यार्थी सहित विद्यालयका शिक्षक शिक्षिका, अभिभावक पनि पूजा–आराधनामा सहभागि भएका थिए ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी विद्यार्थीले आआफ्ना कला साधनाका वस्तु कापिकलम, कुची र वाद्ययन्त्र लाई सरस्वतीका रुपमा पूजा गर्ने चलन रहेको छ । यो दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास रहेकोले अभिभावकले विद्यालय जान सक्ने उमेरका बालबालिकालाई शिक्षणसंस्थामा लगेर अक्षरारम्भ गराएको प्राचार्य सापकोटाले बताए ।

विद्यार्थीलाई विद्यारम्भ गराउने बाहेक यस दिन बालबालिकाको नाक–कान छेड्न पनि शुभ मानिन्छ । सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ यो दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । विद्यालयले हरेक वर्ष यो दिन कार्यक्रम गर्दै आएको उनले बताए ।

पोखराको पालिखेचोकस्थित प्रतिभा माविमा विहीबार सरस्वतीको स्वरुपमा सजिएकी छात्रा ।

Related posts