ताजा खबर

योजना छन्, कार्यान्वयन गर्ने मौका दिनुस्ः लामिछाने

पोखरा, ६ कात्तिक

माओवादी नेता विश्वप्रकाश लामिछानेले राज्यले आफूलाई मौका दिँदा कामयावी योजना निर्माण र कार्यान्वयनसमेत गरेकाले जनताले आफूलाई मत दिने दाबी गरेका छन् । कास्की २ ९१० मा सत्ता गठबन्धनका साझा उम्मेदवार लामिछानेले पोखरालाई समृद्ध बनाउने र आधुनिक महानगर बनाउने योजना आफूसँग रहेको उल्लेख गरे ।

पोलिटिकल साइन्स सोसाइटी नेपालले आइतबार आयोजना गरेको कार्यक्रममा उनले भने, ‘राज्यले दिएका सानातिना जिम्मेवारी सफलतापूर्वक पूरा गरेको छु । अब जनताले जिम्मेवारी दिनुभयो भने निराश नबनाउने खालको खाका मसँग छ ।’

आइतबारै पोखरा ७ मा भएको कार्यक्रममा लामिछानेले सत्ता गठबन्धनबिना देश अघि बढ्न नसक्ने तर्क गरे । एमाले नेतृत्वको सरकारले पटक पटक प्रतिगमन गरेको दाबी गर्दै उनले स्थिरता र समृद्धिका लागि गठबन्धनको विकल्प नभएको जनाए ।

गठबन्धनको पोखरा १७ को सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा उनले संविधानको रक्षाका लागि बनेको गठबन्धनलाई जनताले अनुमोदन गर्ने जनाए । उनले भने, ‘यो गठबन्धनले देशलाई अनिश्चयको यात्राबाट जोगाएको छ । कसलाई मत दिँदा देशको विकास हुन्छ भन्ने जनतालाई थाहा छ ।’

लामिछानेले पोखराको विकासका लागि बनेका योजना कार्यान्वयन र संविधानमा उल्लिखित मौलिक हक ग्यारेन्टी गर्न आफूले योगदान गर्ने उल्लेख गरे ।

Related posts