ताजा खबर

सयपत्री फुलको बजार खोज्दै किसान

कार्तिक ४, तनहुँ

यस बर्षको तिहार भोलीबाट सुरु हुदैछ । तिहारलाई फुलैफुल र उज्यालो पर्वको रुपमा समेत चिनिन्छ । यो पर्वमा भाई टिकाको साथमा लगाईने सयपत्री र मखमली फुलको खपत अत्याधिक हुने भएपनि फुल खरिद गर्न ब्यापारीहरु किसान समक्ष नपुग्दा पुष्प ब्यवसाय गर्ने तनहुँका किसान चिन्तामा छन् ।

तनहुँको शुक्लागण्डकी नगरपालिका र भिमाद नगरपालिकामा ब्यवसायिक रुपमा सयपत्री फुलको खेति गर्दै आएका किसान तिहार नजिकीदै गर्दा बजारको खोजीमा छन् । शुक्लागण्डकी नगरपालिका ८ डहरेकी मञ्जु श्रेष्ठले रहरै रहरमा यो बर्ष २ रोपनी क्षेत्रफलमा लगाएको फुल नविक्ने हो कि भन्ने चिन्ता रहेको बताउभयो । ‘बजार आफै कसरी खोज्नु, अलि अलि फोनमा लिन आउछु भन्नेहरु छन् अरु कसरी विक्री गर्ने ?’ उहाँले भन्नुभयो । ‘किसानलाई बजारको चिन्ता नहुने भएमात्र कृषिमा आकर्षण हुन्छ ।’ किसानको उत्पादन विक्री गर्न सरकारले बजार खोजिदिनुपर्ने उहाँको तर्क छ ।

यता भिमाद नगरपालिका ८ भागरमा तीन युवाहरुले सामुहिक रुपमा लगाएको सयपत्री पूर्ण रुपमा फक्रिएको छैन । तिहार आईसक्दा पनि ७० प्रतिशत मात्र फुल फुलेपछि लक्ष्य अनुसारको ब्यापार नहुने पो हो कि भन्ने चिन्ता उनीहरुलाई छ । गत बर्ष समेत फुल खेति गरेका सागर विकले यस बर्ष आफ्नो उत्पादन आफै विक्री गर्ने लक्ष्य लिएपनि बजार ब्यवस्थापनमा समस्या रहेको सुनाउनुहुन्छ । बजारमा विक्रीकेन्द्र राख्ने ठाउँ समेत पाउन मुस्किल परेको बताउदै उनले स्थानीय किसानको समस्या समाधानमा सरोकारवालाले ध्यान पु¥याउनुपर्ने बताउनुभयो ।

वैदेशिक रोजगारीबाट फर्केका र स्वदेशमै केही गर्नुपर्छ भन्ने मान्यता राखेर पुष्प खेतिमा लागेका विष्णु राना, अमृत कुमाल र विकले स्थानीय सरकारले किसानलाई प्राथमिकता नदिएको गुनासो गर्दछन् । फुल उत्पादनका लागि सहयोग गर्न वडा र नगरपालिकामा समेत मौखिक निवेदन दिएपनि सकरात्मक प्रतिक्रिया नपाएको उनीहरुको गुनासो छ । उनीहरुले यस बर्ष झण्डै ३ रोपनी क्षेत्रफलमा सत्रपत्री खेति गरेका छन् ।

सोही वडामा पछिल्ला केही बर्षदेखि फुल खेति गर्दै आएको गोविन्द अधिकारीलाई पनि बजारको समस्या छ । सामाजिक सञ्जालमा देखेकै भरमा स्थानीय क्षेत्रमा हुने कार्यक्रममा न्यून संख्यामा माला खपत भएपनि फुलेका सवै फुल खपत गर्न बजार नपाएको उहाँ बताउनुहुन्छ । अधिकारीले उत्पादन गरेका फुल खपत हुने आधार फोन र म्यासेज भएपनि अन्य क्रेताहरु भने पुगिसकेका छैन । गत बर्षको मुल्यमा नै सयपत्री विक्री गर्दै आएका उनले समेत स्थानीय सरकारले आफुहरुजस्ता नमूना र ब्यवसायिक फुल खेति गर्ने किसानलाई नजरअन्दाज गरेको बताउनुभयो । ‘वडा कार्यालयको आँगनमै फुल खेति छ तर कुनै पनि प्रतिक्रिया हुदैन’ उहाँले भन्नुभयो ।

यस बर्ष लामो समय खडेरी पर्नुका साथै लामो बर्षातका कारण यहाँका किसानले लगाएको फुल आंशिक मात्रामा फुलेका छन् । पारिलो क्षेत्रमा सयपत्री छिटो फुल्ने भएता पनि अत्याधिक बर्षाका कारण सवै फुल तिहारमा नफुलेको कृषक श्रेष्ठले बताउनुभयो ।

Related posts