ताजा खबर

भारत्तोलनमा एपिएफलाई पहिलो स्वर्ण, नेपाल प्रहरीकी विद्या राईको कीर्तिमान

पोखरा, २ कात्तिक

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भारत्तोलनमा विभागीय एपिएफ क्लबले पहिलो स्वर्ण जित्न सफल भएको छ । पोखरा उद्योग वाणिज्य संघको हलमा बुधबार महिला ८७ केजी तौल समूहमा एपिएफकी नीशा बलालले स्वर्ण जितेकी हुन् । उनले स्न्याचमा ६२ र क्लीन एण्ड जर्कमा ७७ गरी कुल १३९ केजी भार बहन गर्दै एपिएफलाई पहिलो स्वर्ण दिलाएकी हुन् । विभागीय टिममा नेपाल पुलिस क्लब र नेपाल आर्मी क्लब चम्किंदा जारी खेलमा एपिएफ ३ रजत र २ कास्यमा सीमित थियो ।

प्रतियोगितामा नेपाल पुलिसकी जयन्ती श्रेष्ठले स्न्याचमा ६३ र क्लीन एण्ड जर्कमा ७४ गरी कुल १३७ केजी भार बहन गर्दै रजत जितिन् भने नेपाल आर्मीकी अस्मिता राई कास्यमा सीमित भइन् । उनले स्न्याचमा ५७ र क्लीन एण्ड जर्कमा ८८ गरी कुल १२५ केजी भार उठाएकी हुन् । बुधबारकै अर्को खेलमा नेपाल पुलिसकी विद्या राईले स्न्याचमा कीर्तिमान कायम गर्दै स्वर्ण जितिन् । ८७ केजी माथि तौल समूहमा उनले स्न्याचतर्फ ७६ र क्लीन एण्ड जर्कमा ८८ गरी कुल १६४ केजी भार बहन गर्दै स्वर्ण जितेकी हुन् । स्न्याचमा यसअघि ७५ केजीको कीर्तिमान रहेकोमा विद्याले १ केजी बढी भार बहन गरेको रेफ्री सञ्जय महर्जनले जानकारी दिए । यस्तै, एपिएफकी शिखा थापाले रजत र गण्डकीकी सिन्जल गुरुङले कास्य पदक जितिन् । शिखाले स्न्याचतर्फ ४० र क्लीन एण्ड जर्कमा ५३ गरी कुल ९३ केजी भार बहन गरेकी हुन् भने गण्डकीलाई पहिलो कास्य दिलाउन सिन्जलले स्न्याचमा ४० र क्लीन एण्ड जर्कमा ५० सहित ९० केजी भार उठाएकी हुन् । घरेलु टोली गण्डकीले यसअघि रजत जितेको थियो ।

२० स्वर्णसहित ६० पदकका लागि भएको प्रतिस्पर्धा बुधबारदेखि सकिंदैछ । हालसम्म १६ स्वर्णको टुंगो लागेकोमा नेपाल प्रहरीले ९, नेपाल आर्मीले ४, सुदूरपश्चिमले २ स्वर्ण र एपिएफले १ स्वर्ण जितेका छन् ।

Related posts