ताजा खबर

भारत्तोलनमा पुलिसलाई लगातार स्वर्ण हालसम्म १३ इभेन्टमा पुलिसलाई ८, आर्मीलाई ४ र सुदूरलाई १ स्वर्ण

पोखरा, १ कात्तिक

नेपाल पुलिसका विकास थापाले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भारत्तोलन प्रतियोगिताको पुरुष ८१ केजी तौल समूहमा स्वर्ण जित्न सफल भएका छन् ।
पोखरा उद्योग वाणिज्य संघको हलमा मंगलबार राति भएको प्रतिस्पर्धामा उनले स्न्याचमा ११२ र क्लीन एण्ड जर्कमा १३९ गरी कुल २५१ केजी भार बहन गर्दै प्रहरीलाई अर्को स्वर्ण दिलाउन सफल भए ।
यस्तै, मधेश प्रदेशका राज गुरु यादवले रजत र सुदूरपश्चिम प्रदेशका नरेशकुमार चौधरीले कास्य जिते । मधेशका राजले स्न्याचमा ८८ र क्लीन एण्ड जर्कमा ९५ केजी गरी कुल १८३ भार उठाउँदै रजत जितेका हुन् । कास्य जितेका सुदूरका नरेशले स्न्याचमा ७७ र क्लीन एण्ड जर्कमा ९७ केजी गरी कुल १७४ केजी भार उठाएका थिए ।
।।।।।।।।।।
महिला ७६ केजी तौल समूहमा नेपाल पुलिसकी पूजा कुमालले स्वर्ण जितिन् । उनले स्न्याचमा ६१ र क्लीन एण्ड जर्कमा ७० गरी कुल १७१ केजी भार बहन गर्दै स्वर्ण जितेकी हुन् । यस्तै, गण्डकीकी सरस्वती गुरुङले स्न्याचमा ५५ र क्लीन एण्ड जर्कमा ६८ गरी कुल १२३ केजी भार बहन गर्दै रजत जितिन् । कास्य पदक नेपाल पुलिसको पक्षमा गयो । पुलिसकी सजना थिंङ लामाले स्न्याचमा ५७ र क्लीन एण्ड जर्कमा ६५ गरी कुल १२२ केजी भार बहन गरेकी थिइन् ।
।।।।।।।।।।
मंगलबार बिहान भएको महिला ८१ केजी तौल समूहको स्वर्ण नेपाल पुलिसकी तारादेवी पुनले जितिन् । उनले स्न्याचमा ७० र क्लीन एण्ड जर्कमा १०२ गरी कुल १७२ केजी भार बहन गर्दै पुलिसलाई अर्को स्वर्ण दिलाएकी हुन् । मात्र ४ खेलाडी सहभागी सो स्पर्धामा एपिएफकी अञ्जली श्रेष्ठले रजत जितिन् भने सुदूरपश्चिमकी चम्फाकुमारी ठकुल्लाले कास्य जितिन् । अञ्जलीले स्न्याचमा ५३ र क्लीन एण्ड जर्कमा ६८ गरी कुल १२१ केजी तथा चम्फाले स्न्याचमा ४० र क्लीन एण्ड जर्कमा ६० गरी कुल १०० केजी भार बहन गरेका थिए ।
।।।।।।।।।।।।।
त्यसअघि मंगलबार दिउँसो भएको प्रतियोगितामा नेपाल प्रहरीकी जुनमाया छन्त्यालले राष्ट्रिय रेकर्ड कायम गरेकी थिइन् । महिला ७१ केजी तौल समूहमा उनले स्न्याच र क्लीन एण्ड जर्क दुवैमा रेकर्ड कायम गरेकी हुन् । जुनमायाले स्न्याचतर्फ ७८ केजी भार बहन गर्दै आफ्नै रेकर्ड भंग गर्दा क्लीन एण्ड जर्कमा ८९ केजी गरी कुल १६७ केजी उठाउँदै स्वर्ण जितेकी हुन् ।
यस्तै, एपिएफकी सरिता लामाले स्न्याचमा ५२ र क्लीन एण्ड जर्कमा ६५ गरी कुल ११७ केजी बहन गर्दै रजत जितिन् । कास्य जितेकी नेपाल प्रहरीकी सरस्वती पुरीले कुल ११५ केजी भार बहन गरिन् । उनल स्न्याचमा ५० र क्लीन एण्ड जर्कमा ६५ केजी भार उठाएकी हुन् ।
।।।।।।।।।।।।।।।।।।।
यसैगरी, मंगलबार बिहान सम्पन्न महिला ६४ केजीतर्फ नेपाल आर्मीले स्वर्ण जित्यो । आर्मीकी शारदा चौधरीले स्न्याचमा ६७ र क्लीन एण्ड जर्कमा ८० गरी कुल १४७ केजी भार बहन गर्दै आर्मीलाई चौंथो स्वर्ण दिलाएको नेपाल भारत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ ‘बोस’ ले जानकारी दिए ।
यस्तै, नेपाल पुलिसकी राजलक्ष्मी थापाले स्न्याचमा ५७ र क्लीन एण्ड जर्कमा ७१ गरी कुल १२८ केजी भार गर्दै रजत जितिन् भने नेपाल आर्मीकी प्रशंसा पुनले कास्य जितिन् । उनले स्न्याचमा ५३ र क्लीन एण्ड जर्कमा ६५ गरी कुल ११८ केजी भार गरेकी हुन् ।
हालसम्मको नतिजामा पुलिसले ८ स्वर्ण, आर्मीले ४ र सुदूरश्चिमले १ स्वर्ण जितिसकेका छन् ।
कात्तिक २ गते सकिने प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ गरी कुल १०÷१० इभेन्टमा खेल भएको हो । प्रतियोगितामा महिला ७६ र पुरुष ९६ गरी कुल १ सय ७२ जना खेलाडीले भाग लिएका छन् । नवौंमा भारत्तोलनतर्फ २० स्वर्णसहित कुल ६० पदकको लागि प्रतिस्पर्धा भइरहेको छ ।
ध्चष्तभ तय नवौँ राष्ट्रिय खेलकुद, पोखरा ( २०७९

Related posts