ताजा खबर

नवौ राष्ट्रिय खेलकुद अन्तर्गत ट्राइयाथलनका खेलहरु भोलि देखि

पोखरा, कात्तिक १

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भोलि बुधबारदेखि ट्राइयाथलन प्रतियोगिता शुरु हुने भएका छन् । प्रतियोगिता अन्तर्गत बुधबार ट्राइयाथलन र विहीबार दुआथलनका खेलहरु हुने नेपाल ट्राइयाथलन संघका महासचिव जगत धौलीले जानकारी दिए ।

धौलीका अनुसार दुवै खेल अन्तर्गत महिला र पुरुष गरी दुई छुट्टाछुट्टै इभेन्टमा खेल हुनेछन् । जसमा ट्राइयाथलनमा ११ पुरुष र ८ महिला गरी १९ जनाले सहभागिता जनाउने छन् । प्रतियोगितामा शसस्त्र प्रहरीको एपीएफ क्लवबाट ४, आर्मी ३, गण्डकी प्रदेश ३, मधेश प्रदेश २, नेपाल पुलिस क्लव २, कर्णाली प्रदेश १, लुम्बिनी प्रदेश १, प्रदेश नम्बर एक १, एनआरएनए १ र वागमती प्रदेशबाट १ जना खेलाडी सहभागी छन् ।

त्यसैगरी दुआथलनमा १४ पुरुष र ५ महिला गरी १९ जना खेलाडीले सहभागीता जनाउने जनाइएको छ । जसअन्तर्गत शसस्त्र प्रहरीको एपीएफ क्लवबाट ४, त्रिभूवन आर्मी ४, गण्डकी प्रदेश ३, प्रदेश नम्बर एकबाट ३, लुम्बिनी प्रदेशबाट २, वागमती प्रदेशबाट १, नेपाल पुलिस क्लवबाट १ र कर्णाली प्रदेशबाट १ जना खेलाडीले सहभागिता जनाउन लागेका हुन् ।

पोखराको लेकसाईडको अम्बोटबाट शुरु हुने उक्त प्रतियोगितामा ट्राइयाथलन अन्तर्गत बसुन्धरा पार्क स्थित फेवा तालमा ७ सय ५० मिटर पौडी, अम्बोटदेखी बिरौटासम्म २० किमी साइक्लिङ (५राउण्ड) र लेकसाइडको स्ट्रेट नम्बर १० देखी बिरौटासम्म ५ किलोमिटर दौड हुनेछन् भने दुआथलन तर्फ सोही स्थानमा ५ किमि दौड, २० किमि साईक्लिङ र पुनः साढे दुई किमि दौड हुने नेपाल ट्राइयाथलन संघका महासचिव जगत धौलीले जानकारी दिए ।

Related posts