ताजा खबर

नवौं राष्ट्रिय खेलकुद आइटिएफमा आर्मीलाई सात स्वर्ण

पोखरा, ३१ असोज

बागलुङमा जारी आइटिएफ तेक्वान्दो प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी सात स्वर्ण पदकसहित अग्रस्थानमा छ । अहिलेसम्मका खेलमा बागमती प्रदेशले तीन र गण्डकीले एक स्वर्ण जितेको छ ।
एकल प्याटर्नमा ६ र टिम प्याटर्नमा एक स्वर्ण जित्दै आर्मीले जारी प्रतियोगितामा आफ्नो वर्चश्व कायम गरेको हो । आइतबार भएको पुरुष टिम प्याट्रनमा नेपाल आर्मी र महिला टिम प्याट्रनमा बागमती प्रदेशले स्वर्ण हात पारेको हो ।

पुरुष टिम प्याट्रनमा गण्डकी प्रदेश र महिलातर्फ नेपाल आर्मीले रजत पदकमा चित्त बुझायो । महिलातर्फ ‘ब्ल्याक बेल्ट’ दोस्रो डानमा आर्मीकी रिना धिमालले गण्डकी प्रदेशकी सुश्मिता थापालाई पराजित गर्दै स्वर्ण पदक हात पारिन् । गण्डकीकी थापा रजत पदकमा सीमित बनिन् । ‘ब्ल्याक बेल्ट’ तेस्रो डानमा बागमतीकी रुबिका खड्काले स्वर्ण र आर्मीकी निष्मा बस्यालले रजत पदक जितेकी छन् । ‘ब्ल्याक बेल्ट’ पहिलो डानमा बागमती प्रदेशका सचिना सुनुवारले स्वर्ण र नेपाल आर्मीका हिमा खड्काले रजत पदक हाँसिल गरेकी हुन् ।
पुरुषतर्फ ‘ब्ल्याक बेल्ट’ दोस्रो डानमा आर्मीका पूर्णबहादुर मगरले स्वर्ण पदक हासिल गरे । गण्डकी प्रदेशका राजन रेग्मीले रजत पदकमा चित्त बुझाए ।

‘ब्ल्याक बेल्ट’ तेस्रो डानमा नेपाल आर्मीका सुमन मस्राङ्गी मगरले स्वर्ण र लुम्बिनी प्रदेशका वीरेन्द्र बुढा मगरले रजत पदक जितेका छन् ।
प्रतियोगिताको पहिलो दिन शनिबार भएका खेलमा आर्मीले तीन र गण्डकी प्रदेशले एक स्वर्ण जितेको थियो ।
‘ब्ल्यू बेल्ट’तर्फ पुरुष एकल प्याटर्नमा आर्मीका धनसिंह परियारले स्वर्ण र लुम्बिनीका सफल परियारले रजत पदक हात पारे । ‘रेड बेल्ट’मा गण्डकी प्रदेशका भीम गाहाले स्वर्ण पदक जित्दा र लुम्बिनीका सन्देश सुनार रजत पदकमा सीमित बने ।
‘ब्ल्याक बेल्ट’ पहिलो डानमा आर्मीका भीमबहादुर तामाङले स्वर्ण र गण्डकीका प्रविण बुढाले रजत पदक हात पारे । ‘ब्ल्यू बेल्ट’ महिलातर्फ गण्डकीकी मोनिका कुँवरलाई पराजित गर्दै आर्मीकी सुस्मिता श्रेष्ठले स्वर्ण पदक हाँसिल गरिन् । कुँवरले रजत जितिन् ।
अहिलेसम्म गण्डकी प्रदेशले एकल प्याटर्नमा एउटा मात्र स्वर्ण जित्न सफल भएको छ । बागमतीले भने एकलमा दुई र टिम प्याटर्नमा दुर्ई स्वर्ण हात पारेको छ । स्पाइरिङतर्फको पहिलो खेल आइतबार नै सुरु भए पनि समय नपुगेका कारण फाइनल खेलाउन नसकिएको नेपाल आइटिएफका महासचिव अञ्जु रावतले जानकारी दिइन् ।
आज हुने फाइनल खेलमा गण्डकी प्रदेशका खगेन्द्रबहादुर घर्ती र कर्णाली प्रदेशका मिलन धामीबीच प्रतिस्पर्धा हुने नेपाल आइटिएफका महासचिव अञ्जु रावतले जानकारी दिइन् । शनिबारदेखि सुरु भएको आइटिएफमा एकल स्पाइरिङ, टिम स्पाइरिङ, एकल प्याटर्न र टिम प्याटर्नका खेल भइरहेका छन् ।
प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमका दुई सय ५० खेलाडी सहभागी छन् । आइटिएफमा ४५ स्वर्ण, ४५ रजत र ३० कास्य पदकका लागि खेलाडीहरू प्रतिस्पर्धामा छन् । स्थानीय बाङ्गेचौर खेल मैदानमा प्रतियोगिता चलिरहेको छ ।

भारत्तोलनमा आज ४ स्वर्णका लागि खेल हुँदै

भारत्तोलन अन्तर्गत दोस्रो दिन आज सोमबार ४ इभेन्टमा खेल हुँदै छन् । पोखरा उद्योग वाणिज्य संघमाका् हलमा भएको प्रतियोगितामा सोमबारका लागि महिला ५५ र ५९ तथा पुरुष ६७ र ७३ केजी तौल समूहमा खेल हुनेछन् ।
कात्तिक २ सम्म चल्ने प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ गरी कुल १०÷१० इभेन्टमा खेल हुनेछ । जसमा महिला ७६ र पुरुष ९६ गरी कुल १ सय ७२ जना खेलाडीले भाग लिएका छन् प्रतियोगितामा २० स्वर्णका लागि प्रतिस्पर्धा हँुदैछ ।
उद्घाटनको दिन नेपाल पुलिसले ३ र नेपाल आर्मी १ स्वर्ण जित्न सफल भए । नेपाल पुलिसका मुई लामाले भारत्तोलनमा राष्ट्रिय रेकर्ड कायम गरे । आइतबार राति पुरुष ६१ केजी तौल समूहमा भएको स्पर्धाम स्न्याचमा ९६ केजी भार बहन गरी उनले आर्मीका तुलाराम महताको रेकर्ड तोडेका हुन् । लामाले क्लीन एण्ड जर्कमा ११६ सहित कुल २१२ तौल उठाउँदै स्वर्ण जितेका हुन् ।
रजत जितेका नेपाल आर्मीका राजु चौधरीले क्लीन एण्ड जर्कमा आफ्नै रेकर्ड तोडे । उनको नाममा १२० केजी रहेकोमा आइतबारको स्पर्धामा १२१ केजी तौल भार बहन गर्दै रेकर्ड ब्रेक भएको हो । उनले स्न्याचतर्फ ८७ केजीसहित कुल २०८ भार बहन गरे । प्रतियोगितामा कुल १६८ भार उठाएका मधेश प्रदेशका हेमनारायण यादव काँस्यमा सीमित भए ।
महिला ४९ केजी तौल समूहमा नेपाल पुलिसकी संगीता राई, पुरुष ५५ केजी तौल समूहमा आर्मीका तुलाराम महतो र महिला ४५ केजी तौल समूहमा पुलिसकी हिरामोती थारुले स्वर्ण जितेका थिए ।

फुल कन्ट्याक्ट कराँतेमा गण्डकी च्याम्पियन
फुुल कन्ट्याक्ट कराँते खेलमा गण्डकी प्रदेश टिम च्याम्पियन बनेको छ ।
४ स्वर्ण पदकसहित गण्डकी टिम च्याम्पियन बनेको हो । नेपाल आर्मी र सशस्त्र प्रहरीले समान ३÷३ स्वर्ण जितेको प्रतियोगिता सह–संयोजक दीपक गोदारले बताए ।
पुुरुषका ७ र महिलाका ५ विधा गरी १२ विधामा भएको प्रतिष्पर्धामा गण्डकीले पुरुषतर्फको ३०—४०, ४५—५० तौल समूह र महिलातर्फको ३५—४०, ५०—५५ तौल समूहमा स्वर्ण जितेको हो ।
नेपाल आर्मीले खुला तौल समूह पुरुष, महिला र पुरुषतर्फ ६०—६५ केजी तौल समूहमा स्वर्ण जितेको हो । सशस्त्र प्रहरी बलले महिलातर्फको ४५ केजी र ५० केजी मुनि तौल समूह र पुरुषतर्फको ४५ केजी मुनि तौल समूहमा स्वर्ण जितेको हो ।
आइतबार भएको महिलातर्फको ३५—४० केजी तौलम समूहमा गण्डकीकी पुष्पा केसीलेस्वर्ण पदक दिलाएकी हुन् । उनले सुदूरपश्चिम प्रदेशकी गरिमा पार्कीलाई पराजित गर्दै गण्डकीलाई टिम च्याम्पियन बनाउन महत्वपूर्ण योगदान दिइन् । सशस्त्र प्रहरीले रेफ्रीले गलत निर्णय गर्दा आफ्नो खेलाडी पराजित भएको भन्दै विवाद गरेपछि शनिबार खेल स्थगित भएको थियो । गण्डकीले सातौं, आठौं र नवौ राष्ट्रिय खेलकुदमा टिम च्याम्पियन बनेर ह्याट्रिक गरेको छ ।
खेलमा पुरुषतर्फको खुला तौल समूहमा नेपाल आर्मीका विजय सिंहले स्वर्ण जितेका छन् । उनले गण्डकीका रूपक नेपालीलाई फाइलनमा पराजित गरी स्वर्ण जितेका हुन् ।
पुरुषतर्फकै ६०—६५ केजी तौल समूहमा पनि नेपाल आर्मीका सनी सिंहले स्वर्ण जितेका छन् । उनले गण्डकीका शिव भुजेललाई पराजित गरी स्वर्ण जितेका हुन् । पुरुष तर्फकै ५५—६० केजी तौल समूहमा नेपाल प्रहरीका शुशान लामिछानेले स्वर्ण र नेपाल आर्मीका विकास गुरुङले रजत पदक जितेका छन् ।
पुरुषतर्फकै ५०—५५ केजी तौल समूहमा मधेश प्रदेशका धरमिन्द रामले स्वर्ण जित्दा नेपाल आर्मीका चोकबहादुर बुढाथोकीले रजत पदकमा चित्त बुझाए । यसैगरी ४५—५० केजी तौल समूहमा गण्डकीका अनीष बुढामगरले वागमतीका विजय राइलाई पराजित गरी स्वर्ण जितेका छन् । ४०—४५ केजी तौल समूहमा सशस्त्र प्रहरीका सुनील तामाङले आर्मीका राजकुमार यादवलाई पराजित गरी स्वर्ण पदक जितेका छन् । पुरुषतर्फको ३५—४० तौल समूहमा गण्डकीका अभिसेक डिमडुङले नेपाल आर्मीका सागर थिङलाई फाइनलमा पराजित गरी स्वर्ण जितेका छन् ।
महिलातर्फको खुला तौल समूहमा नेपाल आर्मीका मञ्जु विकले बागतमी प्रदेशकी निशा बोहोरालाई पराजित गरी स्वर्ण जितिन् । ५०—५५ केजी तौल समूहमा गण्डकीकी धनी रानामगरले नेपाल आर्मीका पत्रिका चन्दलाई पराजित गरी स्वर्ण जित्न सफल भइन् । ४५—५० केजी तौल समूहमा सशस्त्र प्रहरीकी करिष्मा कार्कीले बागमती प्रदेशकी नविना घमाललाई पराजित गरी स्वर्ण जित्दा ४० देखि ४५ केजी तौल समूहमा सशस्त्र प्रहरीकी रिना माझीले नेपाल प्रहरीकी अञ्जना ढुंगेललाई पराजित गरी स्वर्ण जितेकी छन् ।
पोखरा प्रदर्शनी केन्द्रमा भएको प्रतिष्पर्धामा सात प्रदेश, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी र एनआएनए गरी ११ टिम सहभागी छन् ।

बक्सिङमा विभागीय टोलीकै हावी
बक्सिङ प्रतियोगिताको दोस्रो दिनमा पनि विभागीय टोलीकै हावी देखिएको छ । पोखरा रंगशाला अन्तर्गत बक्सिङ हलमा सञ्चालन गरिएको प्रतियोगितामा महिला र पुरुषतर्फ विभागीय टोली नै अगाडि छ ।
पुरुषतर्फ पहिलो चरणमा भएको खेलमा आर्मीका सुशील थापाले ४.१ नम्बर ल्याएर कर्णालीका मोहन गुरुङलाई पराति गरे ।३.२ अंक प्राप्त गर्दै लुम्बिनीका सुरज ओलीले सुदूरपश्चिमका चिरन्जीवी खड्कालाई पराजित गरे । अंक सहित एपीएफका प्रदीप महर्जनले कर्णालीका जीवनकुमार पुनलाई पराजित गरेका छन् ।
सुदूरपश्चिमका रन्जन भट्टलाई हराउँदै बागमतीका लालप्रसाद उप्रेतीले ५ नम्बर ल्याए ।
पुलिसका शम्भुराज बंशीलाई हराउँदै आर्मी क्वलका प्रेम चौधरीले ५ नम्बर ल्याए ।
बागमतीका सुरज महर्जनलाई हराउँदै एनआरएनका शिवु थापा विजयी भए । आर्मीका सुदीप श्रेष्ठलाई हराउँदै गण्डकीका बुद्ध ग्याम्जो लामा, प्रदेश १ का बलबहादुर पुनलाई हराउँदै गण्डकीका निश्चल गुरुङ, पुलिसका निकेश देशाहीलाई हराउँदै आर्मीका पुरन सुनुवार विजयी भए ।

 

Related posts