ताजा खबर

नवौं राष्ट्रिय खेलकुदमा आर्मीको दवदवा कायमै

३१ असोज

पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्मीका खेलाडीको दवदवा कायमै छ । हालसम्म ८७ स्वर्ण पदकको छिनोफानो हुँदा नेपाल आर्मीले ३८ स्वर्ण, २७ रजत र २१ काँस्य सहित ८६ पदक जित्दै शीर्ष स्थानमा छ ।

दोश्रो स्थानमा विभागी एपिएफले १२ स्वर्ण, १६ रजत र २२ काँस्य पदक जितेको छ । त्यसैगरी तेस्रो स्थानमा अर्को विभागीय टोली पुलिस क्लबले ११ स्वर्ण, ७ रजत र १७ कास्य पदकसहित ३५ पदक जितेको छ । चौथो स्थानमा रहेको बागमती प्रदेश १० स्वर्ण, १६ रजत र १० काँस्यसहित ३६ पदक जितेको छ ।
घरेलु मैदानमा गण्डकी प्रदेशले हालसम्म ८ स्वर्ण, ५ रजत र १५ काँस्य पदक गरी २८ पदक हात पारेको छ । एनआरएनए ४ स्वर्ण, ३ रजत र ४ काँस्यसहित ११ पदकसहित छैटौ स्थानमा रहँदै गण्डकीलाई पछ्याइ रहेको छ ।

मधेश प्रदेशले २ स्वर्ण, २ रजत र ४ काँस्यसहित ८ पदक प्राप्त गरेको छ । प्रदेश १ ले १ स्वर्ण, ४ रजत र १३ कास्य सहित १८ पदक, सुदूरपश्चिमले १ स्वर्ण, १ रजत र ८ काँस्यसहित १० पदक, लुम्बिनीले ६ रजत, ४ काँस्यसहित १० पदक, कर्णाली प्रदेशले १ काँस्य पदक जितेका छन् ।

महिला हक्की
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला हक्कीको सोमबार (आज) भएको खेलमा मधेश प्रदेशले बागमतीलाई प्रदेशलाई हराएको छ ।
मधेश प्रदेशले २–० को गोल अन्तरले बागमती प्रदेशलाई हराएको हो । खेलको पहिलो क्वाटरमा सरिता पुलामीले मधेशका लागि गोल गरेकी थिइन् ।
२७ औं मिनेटमा सरिताको गोलले मधेशलाई खेलमा अग्रता दिलाएको हो । खेलको तेस्रो क्वाटरमा रोनी राइले मधेशका लागि पुनः एक गोल गरिन् । ४८ औं मिनेटमा रोनीको गोलले मधेशलाई २–० को जित दिलायो । योसँगै लिगको पहिलो चरण सकिएको छ ।
यस्तै खेलमा आर्मी, प्रदेश १, सुदूरपश्चिम र गण्डकी सेमिफाइनला पुगेका छन् । भोलि हुने पहिलो सेमिफाइनल खेल आर्मी र प्रदेश १ बीच हुँदै छ । यस्तै सेमिफाइनलको दोस्रो खेलमा गण्डकी र सुदूरपश्चिम भिड्दै छन् । भोलि हुने खेलका विजेताले पर्सी उपाधिका लागि मैदानमा उत्रिने छन् । प्रतियोगितामा सात टिमको सहभागिता थियो ।

महिला बास्केटबल ः समूह चरणबाट मधेस र प्रदेश–१ बाहिरियो

तनहुँ जिल्लामा भएको महिला बास्केटबल प्रतियोगितामा मधेस प्रदेश र प्रदेश–१ समूह चरणबाट बाहिरिएको छ ।
लिग चरणमा खेलाइएको दुवै खेलमा पराजित भएर समूह चरणबाट बाहिरिएको हो ।
लिग चरणको प्रतियोगितामा मधेस प्रदेश त्रिभुवन आर्मीसँग ७१–१३ र सुदूरपश्चिम प्रदेशसँग ४५–२१ को अन्तरसहित पराजित भएको थियो ।
यसैगरी प्रदेश–१ ले बागमती प्रदेशसँग ७५–२४ र गण्डकी प्रदेशसँग ५२–३१ को अन्तरमा हार व्यहोरेको थियो ।
सेमिफाइनल खेलमा समूह क बाट आर्मी र सुदूरपश्चिम प्रवेश गरेको छ भने समूह ख बाट बागमती र गण्डकी प्रवेश गरेको छ ।

खोखोका
खोखो प्रतियोगिताका दोस्रो चरणका खेल सोमबार पनि जारी छ । पोखरा रंगशालास्थित ह्यान्डबल एकेडेमीमा दोस्रो दिन भएको पहिलो खेलमा सुदूरपश्चिमले जित निकालेको छ ।
दोस्रो दिनको पहिलो खेलमा सुदूरपश्चिमले विभागीय टोली नेपाल पुलिसलाई १८, ४ को फराकिलो अंकका साथ जित निकालेको हो ।
त्यस्तै, दोस्रो खेलमा लुम्बिनी प्रदेशले प्रदेश १ माथि जित निकालेको छ । लुम्बिनीले १६ अंक ल्याउँदा प्रदेश नं १ जम्मा ४ अंकमा समेटिएको थियो ।
आइतबार समय अभावका कारण रोकिएको एक खेल पनि सोमबार बिहान नै खेलाइएको छ । आइतबार साँझ ढिलाइ भएका कारण बागमती प्रदेश र सुदूरपश्चिमबीचको महिला टोलीको खेल सोमबार सरेको थियो ।

एथलेटिक्सको ट्रयाक इभेन्टमा आर्मीको वर्चश्व
एथलेटिक्सको ट्रयाक इभेन्टमा त्रिभुवन आर्मी क्लबले वर्चश्व जमाएको छ । पोखरा रंगशालामा सोमबार बिहान भएका ३ इभेन्टमध्ये २ वटामा आर्मीले स्वर्ण आफ्नो पोल्टामा पारेको छ । ११० मिटर हडल्स पुरुषमा आर्मीका जीवन चौधरीले स्वर्ण जिते । उनले निर्धारित दुरी १५.०३ सेकेन्डमा पार गरे । नेपाल पुलिसका चन्द्रदेव जोशीले १५.८१ सेकेन्डमा दुरी पार गर्दै रजत पदक जिते । आर्मीकै रामप्रसाद थारु १९ सेकेन्डमा दुरी पार गर्दै काँस्य पदक जिते ।
१०० मिटर हडल्स महिला आर्मीकी जयरानी थापाले स्वर्ण पदक जितिन् । उनले १ सय मिटर दुरी १५.६९ सेकेन्डमा पूरा गरिन् । रजत पदक आर्मीकी निर्मला थापाले १६.२५ सेकेन्डमा ूुरा गर्दै हात पारिन् । एपीएफकी भगीरती कुमारी थारुले १९.१३ सेकेन्डमा पूरा गर्दै काँस्य पदक जितिन् ।
३ हजार मिटर स्टीबल चेष्टमा आर्मीका दुर्गबहादुर बुढाले कीर्तिमानसहित स्वर्ण जिते । उनले ८ मिनेट ५५.१९ सेकेन्डमा दुरी पार गरे । अजित यादवले ९ मिनेट २१.१० सेकेन्डमा पुरा गर्दै रजत पदक जिते । काँस्य पदक त्रिभुवन आर्मीका सुवास कार्कीले प्राप्त गरे । उनले ९ मिनेट २२.१५ सेकेन्डमा पार गरे ।

 

Related posts