ताजा खबर

पुम्दीकोट पछि अब पुम्दीभुम्दीका अन्य क्षेत्रको समेत पर्यटन प्रबद्र्धन हुन्छः मन्त्री बराल,पुम्दीभुम्दी सहकारीको साधारण सभा

पोखरा ८, असोज

गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पुम्दीकोटसंगै अब पुम्दीभुम्दीका अन्य पर्यटकीय स्थलहरुको प्रबद्र्धन हुने बताउनु भएको छ । पोखरा २२ को पुम्दीभुम्दी बचत तथा ऋण सहकारी संस्थाको शनिबार सम्पन्न भएको चौथो बार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री बरालले पोखराको मुख्य बजार क्षेत्रमा पर्यटकहरुको आकर्षण घट्दो हुदा पुम्दीभुम्दी लगायतका घरगाँउमा जाने पर्यटकहरुको सङख्यामा बृद्धि हुने भएको बताउनु भएको हो ।

 

उहाँले भन्नु भयो, “अब पुम्दीकोटसंगै निगालेडाँडा,थाप्लेडाँडा,पन्चासे लगायतका क्षेत्रमा पर्यटकहरु जाने छन, आगन्तुक पाहुनालाई के कस्तो ब्राण्डको मायाको चिनो दीने स्थानियले सोच्नु पर्ने समय आएको छ ।” कृषि उत्पादनको हिसावले उर्रवर भूमि पुम्दीभुम्दीमा अब बाजो जमिन समेत नराख्न आग्रह गर्दै मन्त्री बरालले कृषि उत्पादन गर्न चहानेलाई भाडामा जग्गाको व्यबस्था गर्नुपर्ने बताउनु भयो । सुलभ र गुणस्तरिय बस्तु उत्पादन गर्न नसक्दा मानव स्वास्थ्यलाई असर पर्न थालेको उहाँको भनाई छ । सहकारीहरुले अब बस्तु उत्पादन गर्न तर्फ केन्द्रित हुनुपर्ने मन्त्री बरालले आग्रह गर्नु भयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख लिलाधर पौडेलले कालोधन लुकाउने माध्यम सहकारीलाई बनाउन नहुने बताउनु भयो । नेप्सकुनकी याम कला सुवेदीले संस्थागत पूंजि बृद्धि गर्न आग्रह गर्नु भयो । ५ प्रतिशत संस्थागत पूंजि बृद्धि गर्न उनले सुझाव दिइन्। राष्ट्रिय सहकारी बैंकका नरेश पाण्डेले कृषि उत्पादनको प्रवल सम्भावना भएको पुम्दीभुम्दीमा कृषि उत्पादन गर्न आग्रह गर्नु भयो । पर्यटन कृषि सहकारी संस्थाका अध्यक्ष डिल्लीराम बरालले २० प्रतिशत रकम उत्पादन क्षेत्रमा लगानी गर्न आग्रह गर्नु भयो । सल्लाहकार प्रकाश बरालले महिला र युवाहरु अघि बढे समृद्धिको आधार खडा हुने दाबी गर्नू भयो ।

संस्थाका अध्यक्ष याम कुमार बरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्रा कोइराला, सल्लाहकार शिवराज बराल, सहकारी अभियान्ता एवं सारथी सहकारीका तारानाथ पौडेल, सक्रिय महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लक्ष्मि बराल, उपाध्यक्ष लक्ष्मी प्रसाद बराल, सचिब प्रमोद बराल लगायतले वोल्नु भएको थियो ।

५ सय ९५ जना शेयर सदस्य रहेको यस संस्थाको चुक्ता पूंजि १ करोड ७२ लाख रहेको कोषाध्यक्ष अम्बिका बरालले बताए । संस्थाले ३ करोड ५१ लाख ८२ हजार २ सय २६ रुपैया ऋण लगानी गरेको छ । करिब ४ बर्ष अघि एक सय जना शेयर सदस्यबाट उक्त सहकारीको सुरुवात भएको हो ।

Related posts