ताजा खबर

प्रदेश स्तरिय साइक्लिङमा गण्डकी प्रदेशबाट १६ जना छनोट (कास्कीबाट १४ खेलाडी छानिए)

भदौ २० पोखरा ।
प्रदेश खेलकुद परिषद गण्डकीले आयोजना गरेको प्रदेश स्तरिय खेलकुद प्रतियोगिता अन्र्तगत सोमबार साइक्लिङतर्फको महिला तथा पुरुष खेलाडी छनोट भएका छन् ।

पोखराका विभिन्न स्थानमा भएको प्रतियोगितामा आसन्न नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशबाट प्रतिनिधीत्व गर्ने १६ जना खेलाडी छनोट गरिएको कास्की जिल्ला साइक्लिङ संघका अध्यक्ष तथा प्रतियोगिता संयोजक शंकर भण्डारीले जानकारी दिए ।

प्रतियोगितामा महिलातर्फ प्रदेशबाट क्रस कन्ट्री विधामा हिमान्सु राई, सोफिया वि।क, सदिक्षा भण्डारी छनोट भएका छन् । यस्तै रोड रेसमा निकिता परियार बबिता परियार, स्पर्श उदास, पवित्रा परियार छनोट हुँदा डाउन हिलतर्फ जमुना थापा छनोट भईन् ।
छनोट भएका उनीहरु सबै कास्की जिल्लाका हुन् । उनीहरुले नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशबाट प्रतिस्पर्धा गर्ने छन् । अन्य जिल्लाहरुले साइक्लिङमा सहभागिता नजनाउँदा उनीहरु सिधै गण्डकी प्रदेशबाट छनोट भएको संयोजक भण्डारीले जानकारी दिए ।

यस्तै गण्डकी प्रदेशबाट प्रतियोगिताको क्रस कन्ट्री विधामा कास्कीका हिक्मत विक, स्याङ्जाका सन्दीप सुधौली, तनहुँका विनोद सापकोटा र कास्कीका अनिल विक छनोट भए ।

डाउन हिलतर्फ कास्कीका अजय क्षेत्री र सुजन अधिकारी छानिन सफल भए । त्यस्तै रोड रेसतर्फ कास्कीका सुमित गुरुङ र सुवास लामा छनोट भएको संयोजक भण्डारीले जानकारी दिए ।

यसअघि सोमबार नै कास्कीबाट पुरुषतर्फको क्रस कन्ट्रीमा हिक्मत विक, अनिल विक, आलोकश्री खड्का र अजित बराल, डाउन हिलतर्फ अजय क्षेत्री, सुजन अधिकारी र रोड रेसमा सुमित गुरुङ र सुवास लामा छनोट भएका थिए ।

प्रतियोगिता क्रस कन्ट्री, रोड रेस पोखरा– १८ मेथलाङ डाँडा र डाउन हिल पोखरा– २२ स्थित रानीबन–तितेपानी क्षेत्रमा भएको थियो ।
नवौँ राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुँदैछ ।

प्रतियोगितामा ७ प्रदेश, ३ विभागीय र एनआरएनको १ गरी ११ टोलीले प्रतिस्पर्धा गर्नेछन् । राष्ट्रिय खेलकुदका ३६ र २ प्रदर्शनीका खेल गरी ३८ खेलमा प्रतिस्पर्धा हुनेछन् । प्रतियोगितामा ४ सय सात स्वर्णपदकका लागि खेलाडीबीच प्रतिस्पर्धा हुनेछ ।

Related posts