ताजा खबर

तनहुँमै पहिलो पटक सत्यवती माध्यामिक विद्यालयमा नर्सिङ सुविधा

तनहुँ, असार १ गते ।
तनहुँको एक सामुदायिक विद्यालयले जिल्लामै पहिलो पटक नर्सिङ सुविधा प्रदान गरेको छ । नेपाल सरकारले प्राथमिकतामा राखेको ‘एक विद्यालय एक नर्स’ कार्यक्रम अपेक्षित रूपमा अघि बढ्न नसकिरहेको बेला दमौली स्थित सत्यवती माध्यामिक विद्यालयले सुविधा प्रदान गरेको हो । विद्यालयले विएससी नर्सिङ उतिर्ण सुनिता जोशी मार्फत नर्सिङ सुविधा प्रदान गरेको छ ।

प्राथमिक उपचारको लागि आवश्यक औषधि, औजार र उपकरणको व्यवस्था विद्यालयले मिलाएको छ । विद्यार्थीहरु धेरै भएकोले विद्यार्थीहरु विरामी भईरहने, घाईते हुने गरेकोले उपचारमा सहज बनाउन जिल्लामै पहिलो पटक नर्स राखिएको विद्यालयय व्यवस्थापन समितिका अध्यक्ष करुणराज काफ्लेले जानकारी दिनुभयो । विद्यालय नर्सले सेवा दिने÷परामर्श गर्ने छुट्टै कक्षको व्यवस्था मिलाएको अध्यक्ष काफ्लेले बताउनुभयो । ‘दुई हजार ७०० विद्यार्थी अध्ययन गर्ने भएकोले विरामी भईरहेकाले नर्सको अभाव महशुस भई नियुक्त गरेका हौं’ अध्यक्ष काफ्लेले भन्नुभयो । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले विद्यालयमा बालबालिकाको उपस्थिति नियमित गराउन र उनीहरूको नियमित स्वास्थ्य जाँचका लागि ‘एक विद्यालय एक नर्स’ कार्यक्रम लागू गरे पनि अझै पनि सो कार्यक्रम पुग्न सकेको छैन ।

विद्यालयमा नर्स भएपछि विद्यार्थीको स्वास्थ्यको ख्याल गर्नको लागि आलोपालो मिलाएर रक्तचाप नाप्ने, ज्वरो नाप्ने तथा स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिने, स्वास्थ्य सचेतना दिने लगायतको उद्धेश्यले नर्स राखिएको प्रधानाध्यापक एकबहादुर गुरुङले जानकारी दिनुभयो । बालबालिका घर बाहेक बढी समय विद्यालयमा रहने भएपनि स्वास्थ्य समस्या पर्दा उपचार नहँुदा समस्या परेकोले सरकारले सबै सामुदायिक र निजी विद्यालयमा अनिवार्य नर्स राख्ने नीति ल्याउने तयारी गरिरहेको छ । नर्सले किशोर–किशोरीलाई प्रजनन, परिवार नियोजन, महिनावारी स्वास्थ्य र यौन तथा यौनिकताका सन्दर्भमा परामर्श दिने विद्यालयले जनाएको छ ।

आधारभूत स्वास्थ्य परिक्षणको व्यवस्था मिलाउनु पर्ने माग अभिभावकबाट पनि आईरहेकोले नर्स राखेपछि अभिभावकहरु खुसी भएको शिक्षक अभिभावक सङ्घका अध्यक्ष सोमराज सिग्देलले जानकारी दिनुभयो । यौन, प्रजनन् लगायत स्वास्थ्य चेतना र आधारभूत जाँचका लागि सरकारले विद्यालयहरूमै नर्स खटाउने योजना बनाएकोले दरबन्दीको नै व्यवस्था माग राखिने विद्यालयले जनाएको छ । विद्यालयका अनुसार व्यक्तिगत र वातावरणीय सफाइ तथा फोहोरमैला व्यवस्थापन, स्वस्थकर जीवनशैली, सामान्य स्वास्थ्य परीक्षण र पोषणको लेखाजोखा गर्ने जिम्मेवारी नर्सलाई दिईएको छ । नर्सले अखाद्य वस्तु ‘जंक फुड’को प्रयोगमा नियन्त्रण, यौनजन्य हिंसा न्यूनीकरण, शारीरिक तथा मानसिक स्वास्थ्य शिक्षा, धूमपान, मद्यपान र सूर्तिजन्य पदार्थको दुरुपयोग न्यूनीकरणका लागि अभिभावक तथा समुदायलाई स्वास्थ्य शिक्षा प्रदान गर्नुपर्ने हुन्छ । रजश्वालाका बेला छात्राहरू लजाउने, प्याड प्रयोग गर्न अप्ठ्यारो मान्ने समस्या पनि समाधान हुने विद्यालयले अपेक्षा लिएको छ ।

किशोरीलाई प्याडको आवश्यकता र यौन स्वास्थ्यबारे सिकाउने भएको छ । महिनावारी भएका बेला छात्राहरूलाई सेनेटरी प्याड विद्यालयले निशुल्क प्रदान गर्ने गरेको छ । किशोरकिशोरी धेरै समय बिताउने ठाउँ विद्यालय भएकोले यस अवस्थामा उनीहरुलाई स्वस्थ रहन र सकारात्मक व्यवहार परिवर्तन गराएर स्वस्थ युवा तयार गर्नमा नर्सको महत्वपूर्ण भूमिका हुने भएकोले सरकारले विद्यालयमा नर्सको व्यवस्था गर्ने तयारी गरिरहेकोले दरबन्दी प्राप्त हुने अपेक्षा लिएको व्यवस्थापन समितिका अध्यक्ष काफ्ले बताउनुहुन्छ । विद्यार्थीलाई व्यक्तिगत सरसफाइ जस्तै हात धुने, नङ काट्ने, दाँत माझ्ने, नुहाउने, यौनाङ्गको सरसफाइको बारेमा महत्व बुझाएर व्यवहार परिवर्तन गर्नुका साथै महिनावारी हुँदा गर्नुपर्ने सरसफाइ, प्याड बनाउने, लगाउने तरिका र फोहोर प्याड व्यवस्थापन गर्ने तरिकाबारे नर्ससँग खुलेर कुरा गर्न सक्ने भएकोले नर्स राखिएको विद्यालयले जनाएको छ । नव नियुक्त नर्सलाई विद्यालयले स्वागत गरेको छ ।

Related posts