ताजा खबर

पोख्रेली सेवा समाजको आयोजना रक्तदान सम्पन्न

पोखरा मंसिर २७ । पोखरेली सेवा समाजको आयोजनामा भएको रक्तदान कार्यक्रममा ५५ युनिट रगत संकलन भएको छ ।रक्तदान नै जीवनदान हो’ र आफू बचौ र अरुलाई पनि बचाउ भन्ने मुल नाराका साथ पोखराको चिप्लेढुङ्गा मानव अधिकार रक्तदान कार्यक्रम भएको हो । पोख्रेली सेवा समाजको मुख्य आयोजना रहेको कार्यक्रममा अन्य पाँचवटा संस्था शेर्पा सेवा समाज, राई मुलघर सेवा समाज, हेल्पिङ ह्याण्डस्, युनिटी अफ फेमेली ग्रुप र ङोलो ङोल्स्यो तमु समाज सहयोगी संस्थाको भुमिकामा रहेको थियो ।

पोख्रेली सेवा समाजकी अध्यक्ष शान्ति गुरुङ (सुस्मा) को अध्यक्षतामा र पोखरा महानगरपालिका ४ नम्बर वडाका वडा अध्यक्ष शङ्कर प्रसाद बास्तोलाको प्रमुख आतिथ्यतामा साथै हेल्पिङ ह्याण्डसका सल्लाहकार सीएम गुरुङको विशेष आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा ६ वटै संस्थाका पदाधिकारीहरु, सदस्यहरु, स्वयंसेवक लगायत अन्य उपस्थित थुप्रै ब्यक्तिहरुले रक्तदान गरे ।

बिगो सामाजिक सञ्जालबाट शुरु भएका यी ६ वटै संस्थाले एक–आपसमा सहकार्य गर्दै विगतमा पनि थुप्रै सामाजिक कार्य गरिसकेका छन् । लकडाउनको समयमै शेर्पा सेवा समाजको प्रमुख आयोजनामा काठमाडौंको बौद्ध, पशुपति र स्वयम्भू गरि तीन ठाउँमा खाना बितरण गरिएको थियो । त्यस्तै, राई मुलघर सेवा समाजको आयोजनामा पनि काठमाडौं स्थित दुईवटा बाल आश्रम र एकवटा वृद्ध आश्रममा खाद्यान्न, लत्ताकपडा, कासो थाल लगायतका सामाग्री वितरण गरिएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्तसञ्चार सेवा कास्कीले आयोजकलाई प्राबिधिक रूपमा सहयोग गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगरपालिका ४ नम्बर वडाका वडा अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि शङ्करप्रसाद बास्तोलाले कार्यक्रमको खुलेरै प्रशंसा गरे । साथै, यति ठूलो दिल बनाएर मानव जिवनमा सबैभन्दा आवश्यक र महत्वपूर्ण कार्यक्रम गरेकोमा पोख्रेली सेवा समाज र संयुक्त पाँच वटै सहयोगी संस्थालाई धन्यवाद ज्ञापन गरेका थिए । आगामी दिनहरुमा सामाजिक उत्तरदायित्व बहन गर्ने कुरामा ४ नम्बर वडासंग मात्र नभई पोखरा महानगरपालिकासंग समेत हातेमालो गरेर जाने बताएका थिए । सामाजिक हितमा संस्थाले गर्ने जस्तोसुकै कामहरू जुनसुकै समयमा पनि स्थानीय सरकारको तर्फबाट भौतिक, नैतिक र आर्थिक हरेक हिसाबले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

हेल्पिङ ह्याण्डसका सल्लाहकार एवम् कार्यक्रमका बिशेष अतिथि सीएम गुरुङले सामाजिक सञ्जाललाई सहि सदुपयोग गरि यसरी सामाजिक कार्य अर्थात समाज सेवा गर्नु आफैंमा उदाहरणीय काम रहेको बताए ।
कार्यक्रममा उपस्तिथित भई रक्तदान गर्नुहुने सम्पुर्ण ब्यक्तिलाई सहयोगी संस्था हेल्पिङ ह्याण्डसको तर्फबाट धन्यवाद समेत दिए । साथै, पोखराबासी सबै–सबैलाई रक्तदान कार्यक्रममा सरिक हुन आग्रह गर्दै आफुले पनि रक्तदान गर्ने प्रतिबद्धता जाहेर गरे । यी छ वटै संस्थाको टिमले अब फेरि छिट्टै नै चितवनमा रहेको चेपाङ बस्तीमा गएर कार्यक्रम गर्ने समेत गुरुङले घोषणा गरे ।

रक्तदान कार्यक्रममा सामाजिक सञ्जाल टिकटकबाट भाईरल भई कमाएको पैसा सामाजिक कार्यमै लगानी गर्दै आएकी समाजसेवी गिबिना मगरलाई बीस हजार रुपैयाँ नगदसहित सम्मान–पत्र दिएर आयोजकले सम्मान गरिन् । राई मुलघर सेवा समाजकी अध्यक्ष एवम् ६ वटै संस्थाका कोषाध्यक्ष समेत रहेकी लोकप्रिय गायिका मेनुका राईले कार्यक्रमलाई औपचारिक रुपमा सञ्चालन गरिन् । औपचारिक रक्तदान कार्यक्रमको विसर्जनसंगै संस्थाका कलाकारहरु पुनम गुरुङ, युनिशा गुरुङ, टकमाया गुरुङ, अर्चना गुरुङ र सोना कायस्थले नृत्य गरेर साथमा रोमन तामाङले गीत गाएर कार्यक्रमलाई थप आकर्षक बनाएका थिए ।

Related posts