ताजा खबर

राति १० बजेसम्म पोखरामा देउसी भैलो खेल्न पाइने

पोखरा कार्तिक १४ । पोखरामा बेलुका १० बजे सम्म देउसी भैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले आइतबार सूचना जारी गर्दै राति १० बजे सम्म देउसी भैलो खेल्न पाइने आदेश जारी गरेको हो ।

देउसी भैलो खेल्दा सार्वजनिक यातायात र जीवनलाई असर नपर्ने गरी मयार्दित र अनुशासित रुपमा सञ्चालन गर्न पनि प्रशासनले आग्रह गरेको छ । कोरोना संक्रमण दर अपेक्षित नघटेको भन्दै सम्पूर्ण स्वास्थ्य मापदण्ड अपनाएर देउसी भैलो नाचगान गर्न प्रशासनले सूचना जारी गरेको हो ।

तिहारमा मठ मन्दिर, गुम्बा लगायत धार्मिक स्थलहरुमा अनावश्यक भीडभाड हुन नदिई स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्न पनि प्रशासनको आग्रह रहेको छ । प्रशासनले पटका, आतसबाजी, झिरझिरे, भुइँचम्पा जस्ता विष्फोटक पदार्थ प्रयोग र निकासी, ओसारपोसारमा रोक लगाएको छ ।

मादक पदार्थ सेवन गरी होहल्ला नगर्नसमेत प्रशासनको सूचनामा भनिएको छ । प्रशासनले भीडभाडजन्य गतिविधि नगर्न अनुरोध गरेको छ । सूचनामा भनिएभन्दा बाहिरका गतिविधि गरे कानुन बमोजिम कारबाही गरिनेसमेत प्रशासनले जनाएको छ ।

Related posts