
कार्तिक ६। नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशनअन्तर्गत आज (शनिबार) मुलुकभर वडा अधिवेशन हुँदैछ। एमाले केन्द्रीय कार्यालयले त्यसका लागि तयारी पूरा गरिसकेकामा हालैको बाढी पहिरोबाट प्रभावित जिल्लामा भने केही समयपछि अधिवेशन हुने जनाइएको छ।
यस्तै, यही कात्तिक ९ गते सबै पालिकास्तरमा अधिवेशन हुनेछ। एमालेले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड तय गर्न सो पार्टीले यही कार्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक समेत बोलाएको छ।
विसं २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएकालाई महाधिवेशन प्रतिनिधि बन्न योग्य बनाइएको छ। आगामी मंसीर १० देखि १२ गतेसम्म एमालेको दशौँ महाधिवेशन वाग्मती प्रदेशको चितवनमा हुनेछ। चितवनमा हुने एमालेको महाधिवेशनमा निर्वाचन प्रयोजनका लागि विद्युतीय भोटिङ मेशिनको प्रयोग गरिनेछ।
एमालेको स्थायी कमिटीको शुक्रबारको बैठकले महाधिवेशनका लागि नेता रामबहादुर थापाको संयोजकत्वमा गठित २१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरेको छ। समितिको सह–संयोजकमा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र सचिवमा विष्णु रिमाललाई तोक्नुका साथै समितिका केही सदस्यहरु समेत थप गरेको छ।