
कार्तिक ३,पोखरा । कास्कीको पर्यटकीय गन्तव्य घान्द्रुक जाने बाटो पहिरोले अबरुद्ध बनेको छ । अविरल वर्षाका कारण गएराती बिरेठाँटी भन्दा केहि पर पहिरो जाँदा घान्द्रुक जाने सडक अबरुद्ध भएको हो ।
सडक अबरुद्ध हुँदा बिरेठाँटीदेखि घान्द्रुक सडकमा आवतजावत बन्द भएको छ । जसका कारण पर्यटक तथा स्थानियलाई आवागमनमा समस्या आएको छ । दशैंको टीकापछि घान्द्रुकमा मात्रै दैनिक एक हजार भन्दा बढी पर्यटक पुग्ने गरेको बताइन्छ ।
त्यसरी गएका पर्यटक एक, दुई रात बसेर फर्किने गरेका छन् । तर सडक अबरुद्ध हुँदा उनीहरु घान्द्रुकमै बसाई लम्ब्याउन बाध्य भएका छन् । यता घान्द्रुक जान आएकाहरु भने बाटो अबरुद्ध भएपछि पोखरामै बस्न बाध्य भएका छन् ।
बिरेठाँटीदेखि लगभग १५,२० मिनेट पर घान्द्रुक जाने बाटोमा पहिरो गएको कास्की प्रहरीले जनाएको छ । पहिरो ठूलै गएकाले हटाउन केहि समय लाग्ने कास्कीका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) सुवास हमालले जानकारी दिए । उनका अनुसार स्थानियबासी र प्रहरी मिलेर डोजरको सहायतामा केहिबेर पछि नै डोजर हटाउन शुरु गरिनेछ । सो सडकमा पहिरो जानुबाहेक कास्कीमा गएरातीको वर्षाले अन्य ठाउँमा क्षेति पुर्याएको छैन ।