ताजा खबर

कार्यवहाक प्रमुखको जिम्मेवारी उपप्रमुख गुरुङलाई

पोखरा, २५ असोज

गत साउन १ गते बिरामी हुनु भएका पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी सोमबार कार्यालय आउनुभएको छ । मस्तिष्कघात भएपछि उपचारका लागि काठमाडौं जानु भएका प्रमुख जिसी शनिबार पोखरा आउनु भएको हो । सोमबार कार्यालय पुगेर प्रमुख जिसीले नेपालीहरुको महान पर्व दसैं लगायत अन्य चाडपर्वहरुको अवसरमा नगरवासी तथा सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले कोरोना संक्रमणको जोखिम अझै रहेकाले स्वास्थ्यप्रति सचेत भएर चाडपर्व मनाउन आग्रह गर्नुभएको छ । ‘चाडपर्वहरु अर्को वर्ष पनि आउँछन्,’ जिसीले भन्नुभयो,‘स्वास्थ्यका मापदण्ड पालना गरेर मनाउन आग्रह गर्दछु ।’ उहाँले स्वास्थ्यमा कुनै समस्या भएमा महानगरका स्वास्थ्य केन्द्र तथा अस्पतालहरुमा स्वास्थ्य जाँच गराउन आग्रह गर्नुभएको छ ।

जिसीले आफ्नो स्वास्थ्य लाभको कामना गर्नुहुने सबैमा आभार व्यक्त गर्नुभएको छ । उपचारमा सम्लग्न चिकित्सक लगायत प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सबैमा धन्यवाद दिनुभएको छ । करिब १ घण्टा कार्यालयमा रहनु भएका जिसीले महानगरले गर्ने काम, सेवा प्रवाहलाई गुनासो नआउने गरी गर्न जनप्रतिनिधि तथा कर्मचारीलाई अनुरोध गर्नुभएको छ । आफू पनि पूर्ण रुपमा निको भएर छिट्टै काममा फर्किने विश्वास जिसीले त्यस अवसरमा व्यक्त गर्नुभयो ।

कार्यवहाक प्रमुखको जिम्मेवारी उपप्रमुख गुरुङलाई महानगर प्रमुख जिसीले उपप्रमुख मञ्जुदेवी गुरुङलाई कार्यवहाक प्रमुखको जिम्मेवारी दिनु भएको छ । जिसीले कार्यालय नआउँदासम्म कार्यवहाक प्रमुख भई दैनिक कार्य सञ्चालन गर्ने गरी लिखित रुपमा कार्यवहाक प्रमुखको जिम्मेवारी उपप्रमुख गुरुङलाई दिनुभएको हो ।

Related posts