
असोज २५, पोखरा
गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले विकास निर्माणमा स्थानिय नागरिकहरुको सहयोग अपरिहार्य रहेको बताउनुभएको छ । नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा नं २१ ले आयोजना गरेको बडादशैं, तिहार, छठ तथा नेपाल सम्वत्को अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री थापाले स्थानीय जनसहभागिता विना कुनै पनि विकास कार्यले गति नलिने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘वडाको विकासमा स्थानीयको भूमिका उल्लेखनिय हुन्छ । त्यसैले स्थानीय जनसहभागिता विना कुनै पनि काम अगाडि बढाउन सकिदैन । विकासका सकरात्मक पक्षहरुमा सबै एक भएर हिड्नुपर्ने आजको आवश्यकता हो ।’
मन्त्री थापाले पोखरा २१ लाई पर्यटन क्षेत्रको रुपमा समेत विकास गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । सम्भावना बोकेको क्षेत्र हुँदाहुँदै पनि विकासको दृष्टिकोणबाट अरु वडा भन्दा अलिक पछाडि परेको उल्लेख गर्दै होमस्टे अवधारणा अनुरुप वडाको आर्थिक स्तरमा सुधार ल्याउन सकिने भनाई उहाँको छ ।
उहाँले पोखरा २१ लाई कृषिको पकेट क्षेत्रको रुपमा समेत विकास गर्न सकिने बताउनुभयो । ‘पोखरा २१ लाई कृषिको पकेट क्षेत्रको रुपमा समेत विकास गर्न सकिन्छ’, उहाँले भन्नुभयो, ‘यहाँ धेरै सम्भावनाहरु छन्, हामीले पहिचान गर्न नसकेका मात्र हौं ।’
मन्त्री थापाले पोखरा २१ को विकास निर्माणमा देखिएका समस्यालाई सम्बोधन गर्न आफ्नो पहलकदमी रहने बताउनुभयो । ‘सो क्षेत्रमा देखिएको खानेपानीको समस्यालाई समेत चाँडै नै समाधान गरिनेछ’, उहाँले भन्नुभयो ।
नेपाली काँग्रेस पोखरा २१ का सभापति केवल गिरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा ४१ जना काँग्रेस प्रवेश गरेका छन् ।