पर्वत २३, असोज
गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले राजनीतिक आस्थाका कारणले गर्दा जनताका मागलाई जनप्रतिनिधिहरुले विभेद गर्न नहुने बताउनु भएको छ । पर्वतको जलजला गाउँपालिका ८ खनियाघाट स्थित नाग्लीबाङ्ग बहुउद्धेश्य सहकारी संस्था लिमिटेडको शनिबार खनियाघाटमा सम्पन्न १३ औं बार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री बरालले उक्त कुरा बताउनु भएको हो ।
राजनीतिक आस्थाकै कारण जनताका आधारभूत आवश्यकतालाई कुनै पार्टीका जनप्रतिनिधिहरुले पनि विभेद गर्न नहुने केही न केही सम्बोधन गर्नुपर्ने मन्त्री बरालको भनाई थियो । जनप्रतिनिधिहरु जनता प्रति जवाफदेही र उत्तरदाहित्व बहन गर्न सक्नुपर्ने उहाँको भनाई थियो । नाग्लीबाङ्ग, खनियाघाट लगायतका क्षेत्रमा कम्यूनिष्टको बाहुल्याता भएको कारण राजनीतिक प्रतिसोचका कारण विकास निर्माणमा आफुहरुलाई पछि पारीएको स्थानियले गुनासो गरे पछि मन्त्री बरालले जनताको आधारभूत आवश्यकता पुरा गर्ने बिषयमा जनप्रतिनिधिले पहिलो प्रथामिकता दिनुपर्नेमा जोड दिनु भयो ।
सहकारीले पैसा खरिद बिक्रि मात्र नगरी उद्यमशील र उत्पादनशिल क्षेत्रमा, जनताको जीवन स्तर उकास्ने गरी पुंजि परिचालन गर्नु पर्ने मन्त्री बरालको भनाई थियो । द्धन्दकालमा जलजला क्षेत्रका स्थानियले आफु र आफ्नो पाटीै प्रति पुराएको योगदानको खुलेर प्रशंम्सा गर्दै माओबादी केन्द्र गण्डकी प्रदेशका सचिवालय सदस्य समेत रहेका मन्त्री बरालले उक्त क्षेत्रको आधारभूत विकास निर्माण गर्ने बिषयमा आफ्नो पालामा केही न केही काम गरी छाड्ने वचन दिनु भयो । नाग्लीबाङ्ग सहकारी संस्थाले जनताको जीवन स्तर उकास्ने गरी विभिन्न कृषि सहित उत्पादन क्षेत्रमा लगानी गरेकोमा धन्यवाद दिदै आगामी दिनमा यस्तै अभियानलाई निरन्तरता दिन मन्त्री बरालले आग्रह गर्नु भयो ।
जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) ले पर्वतको उत्तरी भेग विकास निर्माणका हिसवाले पछि परेको बताउनु भयो । आफ्नो गाउँपालिकामा ४५ वटा सहकारी रहेको उल्लेख गरेका उनले यस बर्ष कालिगण्डकी सहितका खोला नालाबाट करिब ४ करोड राजश्व संकलन गर्ने लक्ष्य राखिएको बताउनु भयो । उक्त सहकारीमा हाल ३ सय ६० जना शेयर सदस्य रहेका छन भने सहकारीको शेयर पंूजि १ करोड ३० लाख ३१ हजार ४ सय रहेको लेखा समिति संयोजक अनिता कुमारी रेग्मीले बताउन्ु भयो। उनका अनुसार संस्थाको गत एक बर्षमा ७ लाख ६४ हजार ५ सय शेयर पुंजि थपिएको छ भने संस्थामा हाल जम्मा ३ करोड ३१ लाख ४९ जहार बचत भएको छ ।
संस्थाले एक बर्षमा १ करोड ६२ लाख ९८ हजार ८ सय ८० रुपया बचत गर्न सफल भएको थियो । संस्थाले करिब ५१ लाख कृषि परियोजनामा कर्जा लगानी गरेको छ । संस्थाका अध्यक्ष महेन्द्र रेग्मीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सल्लाहकार रुद्र बहादुर महत, सोम जि.सी.लगायतले वोल्नु भएको थियो । संस्थाले विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरेको सचिव तारा महतले बताउनु भयो ।