ताजा खबर

पत्रकार राजाराम पौडेल सम्मानित

पोखरा, असोज २२ गते ।

पोखरा सिर्जनाचोकमा रहेको विसौनी दोहोरीसाँझ नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको छ । नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको यो दोहोरीसाँझको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा लोकसंगीत विभाग प्रमुख वरिष्ठ गायिका हरिदेवी कोइरालाले उद्घाटन गरिन् । नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको दोहोरी साँझले व्यवसायिक सफलता प्राप्त गरोस् भन्दै गायिका कोइरालाले दोहोरी साँझ नयाँ प्रतिभालाई अवसर र पुराना प्रतिभालाई निखारता प्रदान गर्न सघाएको बताइन् ।

दोहोरी साँझमा पोखरा १९ का चन्द्र दर्नालको एकल लगानी रहेको छ । झण्डै डेढ करोडको लगानीमा दोहोरी साँझ र रेष्टुरेन्ट सञ्चालनमा ल्याउन लागेको व्यवसायी दर्नालले जानकारी दिए । ‘तल्लो तलामा दोहोरी साँझ सञ्चालन हुन्छ, टपमा रेष्टुरेन्ट, दुवैतीर गरेर झण्डै डेढ करोड लगानी गर्दैछु’ उनले भने । यस अगाडि दर्नालले पोखराको दर्पणछाँया दोहोरी साँझमा लगानी गरेका थिए । दोहोरी साँझमा गुणस्तरीय परिकारको साथमा पारिवारिक वातावरणमा दोहोरीको मज्जा लिन पाइने सञ्चालक दर्नालको दावी छ ।

शुभारम्भको अवसरमा दोहोरीसाँझले पत्रकार राजाराम पौडेल सम्मान गरेको छ । पत्रकार पौडेललाई नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा लोकसंगीत विभाग प्रमुख वरिष्ठ गायिका हरिदेवी कोइरालाले सम्मान गरेकी हुन् । पत्रकारिताको माध्यमबाट लोकसंगीतको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको सञ्चालक दर्नालले बताए । रेडियो अन्नपूर्णमा आवद्ध पत्रकार पौडेल रंगपत्रकारिता क्षेत्रमा क्रियाशिल छन् ।

व्यवसायबाट प्राप्त भएको नाफाको केही हिस्सा असाहय तथा गरिब व्यक्तिको लागि छुट्याउने सञ्चालक दर्नालले खुलाए । लोक संगीत प्रतिको मायाका कारण ट्याक्सी ड्राइभरबाट दोहोरी साँझ तर्फ यात्रा मोडिएको उनले सुनाए । ‘२०६२ चैत्रबाट मैले ट्याक्सी ड्राइभरको काम गरे, मलाई लोक संगीत ज्यादै मनपर्छ, स्वदेशमानै केही गर्नुपर्छ भन्ने मान्यता मेरो हो, त्यसपछि दोहोरी साँझ तर्फ लगानी गर्न आए, दोहोरी व्यवसायमा मेरो आगमन भएको ५ वर्ष भयो’ दर्नालले भने ।

दोहोरी साँझमा जीवन दाहाल, लक्ष्मी नेपाली, राम्जी पौडेल, माया केसी लगायतका कलाकारको नियमित प्रस्तुती रहनेछ । बेला–बेलामा राष्ट्रिय स्तरका अतिथि कलाकार बोलाएर लोक संगीतप्रेमीको सांगीतिक तृष्णा मेटाउने तयारी दोहोरी साँझले गरेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका सचिव समेत रहेका लोकदोहोरी गायक जीवन दाहालले बताए ।

रेष्टुरेन्ट मार्फत दिने सेवा बिहान ८ बजेबाट र दोहोरी साँझबाट दिइने सुविधा साँझ ७ बजेबाट नेपाल सरकारले तोकेको समय अनुसार प्रदान गरिनेछ ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *