
पोखरा, २० असोज
धौलागिरि हिमाल आरोही फोटो पत्रकार पूर्णिमा श्रेष्ठलाई फोटो पत्रकार संघ, कास्कीले सम्मान गरेको छ । बुधबार पोखरामा आयोजित समारोहमा उनलाई सम्मान गरिएको हो । संसारको सातौं अग्लो हिमाल धौलागिरि (८१६७ मिटर) पहिलोपटक नेपाली महिलाका तर्फबाट उनले यसै साता सफल आरोहण गरेकी हुन् ।
आर्थिक अभावबीच पनि आरोहण सफल भएको भन्दै उनले खुसी व्यक्त गरिन् । उनले दुई पटकको प्रयासमा धौलागिरि आरोहण गर्न सकेको बताइन् । गत सिजनमा पनि आरोहण लक्ष्य रहेको उनले कोरोनाको दोस्रो लहर फैलिएपछि रोकिएको थियो । पूर्णिमाले अब चाँडै नै कञ्चनजंघा आरोहण गर्ने योजना रहेको जानकारी दिइन् । त्यसपछि मकालु र ल्होत्से आरोहण गर्ने तयारी रहेको बताइन् । आरोहणमा हेलीभन्दा पदयात्रामार्फत जाँदा स्थानीय ठाउँको प्रवद्र्धन हुने भएकोले प्रदेश सरकारले सो क्षेत्रमा पदयात्रामा बनाउन पनि उनको सुझाव थियो ।
काठमाडौंको सेभेन समिट ट्रेकिङ कम्पनीमार्फत उनले असोज २ गते मुस्ताङको मार्फा हुँदै पैदलमार्ग भएर धवलागिरि हिमाल आरोहणमा गएकी थिइन् । टिममा ४० जना थिए । गोरखा आरुघाटकी पूर्णिमाको टोलीले यसअघि वैशाख ३ मा अन्नपूर्ण प्रथमको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए । पूर्णिमाको टोली अन्नपूर्ण हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला हुन् । उनले यसअघि सगरमाथा, मनास्लु र आमादब्लम हिमालको आरोहण गरेकी थिइन् । कार्यक्रममा फोटो पत्रकार संघ कास्कीका अध्यक्ष प्रदीप पौडेलले पूर्णिमाको सफल आरोहणले फोटो पत्रकारको शिर उचो बनाएको बताए ।
टान गण्डकीका प्रथम उपाध्यक्ष धर्म पन्थीले कोरोनाले सुस्ताएको पर्यटन क्षेत्र उनको आरोहणले विश्व बजारमा चिनाउन मद्दत पुगेको बताए । यस्तै, फोटो पत्रकार संघ गण्डकी अध्यक्ष राम गुरुङ, फोटो पत्रकार कृष्णमणि बराल, फोटो पत्रकार कास्कीका सचिव दुर्गा पौडेल, सहसचिव उमेश पुन, फोटो पत्रकार धनश्याम पौडेल राधिका कँडेल लगायतले बोलेका थिए ।