ताजा खबर

मानव मिलन संस्थाको २७ औं स्थापना दिवस

पोखरा, १७ असोज ।

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मानवले सकारात्मक सोचका साथ असल कार्य गर्नुपर्ने बताएका छन् । मानव मिलन संस्था, पोखराको २७ औं स्थापना दिवस एवं अन्तर्राष्ट्रिय अहिंसा दिवसको सन्दर्भमा आयोजित शुभकामना आदानप्रसान कार्यक्रममा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

प्रदेश प्रमुख गुरुङले झुठो नबोली, भ्रष्टाचारका क्रियाकलापमा नलागी असल कार्य गर्नुपर्ने सुझाव दिए । उनले मानव मिलन संस्थाका संस्थापक नेपालकेशरी डा. मणिभद्र मुनिजी महाराजको अमृतवाणिको आधामात्र अनुशरण गर्न सके पनि जीवन सुखमय हुने बताए । मानव मिलन संस्थाका संस्थापक नेपालकेशरी डा. मणिभद्र मुनिजी महाराजले कुनै अनुष्ठान गर्नु धर्म नभै आफैं शान्त रहन सक्नु धर्म हो भने । उनले संस्थाको स्थापनाकालको स्मरण गर्दै अहिंसा धर्म हो भन्दै निःस्वार्थ सेवा गर्नुपर्ने सुझाव दिए । कुनै पनि सेवा गरेर आनन्द नआए समाजसेवाको अर्थ नहुने उनको धारणा थियो ।

कांग्रेस नेता शुक्रराज शर्माले सानो कुराबाट पनि साधनामा जुट्न सुझाव दिए । उनले डा. मणिभद्र मुनिजी महाराजको कार्यको प्रशंसा गर्दै उहाँको अमृतवाणिको अनुशरण गर्नुपर्ने बताए । उनले नास्वान नहुने बस्तु प्राप्त गर्ने भनेको भगवान्को सानिध्यता नै भएको धारणा व्यक्त गरे । मानव मिलन महिला विभागको अन्तर्राष्ट्रिय सचिव सावित्री शर्माले संस्थाले गरेका सेवाका विषयमा प्रकाश पारिन् । साथै उनले अन्तर्राष्ट्रियस्तरबाटै सेवाका कार्य गरेको बताउँदै हाल एम्बुलेन्स सेवा सञ्चालन गरिरहेको र निकट भविष्यमै अपांगता भएका व्यक्तिलाई कृत्रिम खुट्टा प्रदान गर्ने जानकारी दिइन् ।

कार्यक्रममा मानव मिलन संस्था भारत, सोनी पथका सदस्य राकेश जैन, मानव मिलन युवा समितिका केन्द्रीय अध्यक्ष नवराज सुवेदी, मानव मिलन संस्था स्याङ्जाका संस्थापक अध्यक्ष नारायणप्रसाद पौडेल, मानव मिलन संस्था स्याङ्जाका अध्यक्ष रामचन्द्र पौडेल, मानव मिलन संस्था लेखनाथका अध्यक्ष प्रेम बराल, स्याङ्जा आरुखर्क–पोखरा सम्पर्क समाजका अध्यक्ष यामप्रसाद पौडेल, मानव मिलन नारी जागरणका निवर्तमान उपाध्यक्ष रमा ढकाल, महिला उद्यमी पार्वती पौडेल रेग्मी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

मानव मिलन संस्थाका संस्थापक नेपालकेशरी डा. मणिभद्र मुनिजी महाराजको सानिध्यता एवं मानव मिलन संस्था पोखराका अध्यक्ष गुप्तप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संस्थाकी प्रथम उपाध्यक्ष कमला शर्मा र सञ्चालन सचिव नम्रता बरालले गरेका थिए ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *