ताजा खबर

नेशनल गण्डकी म्युजिक अवार्ड हुने

 

पोखरा १५असोज

पुष्पाञ्जली स्टुडियो प्रालिको आयोजनामा ‘नेशनल गण्डकी म्युजिक अवार्ड–२०७८’ हुने भएको छ । आयोजकले शुक्रबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर दिएको जानकारी अनुसार ३१ विधामा अवार्ड वितरण गरिनेछ । जसको लागि उत्कृष्ट ५ मनोनयन सार्वजनिक गरिएको छ ।

उत्कृष्ट ५ मा पर्न सफल प्रतिभालाई ५० प्रतिशत जुरीको निर्णय र ५० प्रतिशत दर्शक श्रोताले गरेको भोटको आधारमा अवार्ड विजेता घोषणा गरिने आयोजकले जनाए । लोक, पप, आधुनिक र यस सम्बन्धीत श्रव्यदृश्य गरी ३१ विधाका कलाकारलाई अवार्ड वितरण गरिनेछ ।

यसका साथै लाइफटाइम एचिभमेन्ट अवार्ड, जेष्ठ कलाकार सम्मान र रगं पत्रकार सम्मान कार्यक्रम समेत गरिने आयोजकको भनाई छ । अवार्ड कार्यक्रमको जुरी निर्णायकमा सुमन श्रापित, बमबहादुर कार्की र रेशम रचक रहनुभएको छ ।

अवार्ड वितरण कार्यक्रम आगामी कार्तिक ५ गते दिउँसो ३ बजे पोखरा उद्योग वाणिज्य संघको हलमा गर्ने तय भएको आयोजकले जनाए ।

यो वर्ष पहिलो अबार्ड भएको हुँदा  केही बर्ष अगाडिका गीत समेतले नोमिनेशसन फाराम भर्न सक्ने व्यवस्था गरिएको भएपनि अर्को वर्षबाट भने एक वर्ष भित्रका गीतले मात्र सहभागीता जनाउन पाउने गरेर अवार्ड वितरण गरिने आयोजक पुष्पाञ्जली स्टुडियो प्रालिका प्रबन्ध निर्देशक कृष्णप्रसाद गौतमले बताउनुभयो । ‘नेपाली कला संस्कृतीको क्षेत्रमा क्रियाशिल प्रतिभालाई थप उर्जाशिल बनाउन अवार्ड कार्यक्रमको आयोजना गरिएका हो’ गौतमले सुनाउनुभयो ।  

यसपाली चलचित्र विधालाई समेट्न नसकेपनि अर्को वर्ष थप्दै जाने गौतमले बताउनुभयो । ‘१५ दिनको समय राखेर विभिन्न विधामा आवेदन गर्न लगाएका थियौ, अवार्ड कार्यक्रमले पोखराको गरिमा बढ्छ, अर्को वर्षबाट विधा थप्दै लैजान्छौ’ गौतमले भन्नुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै जुरी निर्णायक संयोजक सुमन श्रापितले वास्तविक प्रतिभालाई अवार्ड प्राप्त गर्नेगरी आफूहरुले कार्य गर्ने बताउनुभयो । ‘कोरोनाले थलिएको विषम परिस्थितीमा पनि अवार्ड कार्यक्रम गर्ने आट गर्नु सुन्दर पक्ष हो, यस्ले कलाकारलाई उर्जा थप्नेछ’ श्रापितले बताउनुभयो  ।

यसैगरी राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान नेपालका सचिव जीवन दाहालले अवार्ड कार्यक्रम आयोजना हुनु राम्रो भएको बताउनुभयो । ‘अवार्ड कार्यक्रम आयोजना हुनु राम्रो कुरा हो, हाम्रो साथ सहयोग रहन्छ’ उहाँले भन्नुभयो । अवार्ड कार्यक्रम सम्पन्न गर्न ६ लाख ७० हजार रुपैँया खर्च लाग्ने आयोजकको अनुमान छ । पहिलोपटक आयोजना गर्न लोगको हुँदा केही कमीकमजोरी हुन सक्ने भएपनि सबैको सुझाबको आधारमा अवार्ड कार्यक्रमलाई परिस्कृत गर्दै लैजाने आयोजकले बताए । यस अवार्डको उद्धेश्य कलाकारहरुलाई थप उर्जाशिल बन्न टेवा पु¥याउने रहेको आयोजकको प्रष्टोक्ति थियो ।

Related posts