
पोखरा १३, असोज
निश्चित समय सिमा सकिएर डेडलक भएको फुर्सेखोला, रामदी मट्टिखान देउराली सडक योजना गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनको पहलमा पुनः निर्माण कार्य सुरु हुने भएको छ । करिब १३ किलोमिटर सडक निर्माणको लागि १४ करोडको बजेट परेर पनि केही प्रतिशत मात्र काम भई हाल डेडलक भएको अबस्थामा मन्त्री बरालको पहलमा उक्त बाटोको स्तरउन्नती हुने भएको हो ।
बुधबार पोखरा २१ मा भएको भेटघाट कार्यक्रममा वोल्दै मन्त्री बरालले अब उक्त योजना सम्पन्न गर्न स्थानिय सहित प्रदेश सरकारको समेत निरनतर खबरदारी आवश्यक भएको बताए । दशैं पर्व अघि अबरुद्ध भएको बाटो खुलाउने र दशैं लगत्तै उक्त सडक निर्माणमा अघि बढ्न आग्रह गर्दै मन्त्री बरालले रकम अभावले गर्दा निर्माण कम्पनीलाई कुनै समस्या नपार्ने जनाए ।
ठेक्का पाएको कम्पनीले समयमै काम नगर्दा अलपत्र अबस्थामा रहेको उक्त योजना सम्पन्न गर्न लामिछाने निर्माण सेवाले अग्रसरता देखाएसंगै प्रदेशको समन्वयमा उनलाई जिम्मा दिइएको हो । उक्त कम्पनीका संचालक कमल लामिछानेले म्याद थप भएको समय भित्र आफुले गुणस्तरिय काम गर्ने प्रतिबद्धत्ता व्यत्त गरेका हुन्। हिजोआज पानी परेका कारण पनि आफुले चाहेर हाल काम अघि बढाउन नसकेको उनले जनाए ।
भौतिक पुर्वाधार शहरी विकास तथा यातायात व्यबस्था मन्त्रालयका सचिव रामप्रसाद श्रेष्ठले सरकारले दिएको सिमा भित्र निमार्ण भएको आधारमा रकम भुत्तानीमा कुनै समस्या नहुने बताए । अब पनि काम गर्न ढिलाई गरेमा ठेक्का तोडिने उनले चेतावनी दिए ।
भौतिक पूर्वाधार विकास कार्यालय कास्कीका डिभिजन प्रमुख महेन्द्र बहादुर बानियाले दशैं अघि नै अबरुद्ध भएको सडक संचालन गरी निर्माण कार्यलाई तत्काल अघि बढाउन निर्माण कम्पनीलाई सुझाव दिए । उक्त बाटो समितिका अध्यक्ष देविबहादुर थापाले मन्त्रीको पहलमा उक्त बाटो निर्माण हुने आशा पलायको बताए । स्थानिय बुद्धि बहादुर कार्कीले उक्त बाटो समयमै निर्माण नहुदा किसानहरु ठुलो मर्कामा परेको गुनासो गरे । प्रदेश सरकारबाट उक्त बाटो निर्माणको लागि चालु बर्षमा दुई करोड मात्र बजेट विनियोजन भएको स्थानिय सुर्य पौडेलले जनाए ।
संघिय सरकारबाट केही बर्ष पहिला ३१ करोडसम्मको योजना
िवनियोजन भए पनि विभिन्न कारणले न्यून प्रतिशत मात्र काम भई बाँकी रकम फ्रिज भएको स्थानियले गुनासो गरे । उक्त सडक यस बर्षको बर्षादले गर्दा धेरै ठाँउमा पहिरो गएको त केही ठाँउमा तार जाली लगाउनु पर्ने तथा केही ठाउँमा खाल्टा खुल्टी भएको पदम बहादुर थापाले बताए ।