पोखरा ११, असोज
गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पोखरा महानगरपालिका वडा नम्बर २२ (पुम्दी—भुम्दी) मा आगामी एक बर्ष भित्र आधारभूत खानेपानी व्यबस्थापन गर्ने बताउनु भएको छ । पोखरा २२ को पुम्दी भुम्दी खानेपानी तथा सरसफाई योजनाको १० औं बार्षिक साभारण सभा तथा चौथो अधिवेशनको सोमबार उद्घाटन गर्दै मन्त्री बरालले आगामी बर्ष भित्र पुम्दी भुम्दीमा आधारभूत खानेपानीको व्यबस्थापन गर्ने बताउनु भएको हो ।
उहाँले भन्नु भयो“पिउनको लागि सुद्ध पानी हामीले आवश्यकता प्राप्त गर्न जरुरी छ, प्रदेश सरकारले ५ बर्ष भित्र एक घर एक धारा अभियान समेत संचालन गरेको हुदाँ, अबको डेढ बर्षमा प्रदेशका जनतामा आधारभूत खानेपानीको पहुच पु¥याउने लक्ष्यमा रहेका छौं ।” आधारभूत खानेपानीका योजनाहरु समयमै सम्पन्न गर्न प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गर्ने मन्त्री बरालको भनाई छ । आधारभूत खानेपानी आयोजनाको लागि पहिला सम्पन्न भएका योजनाहरुको भुक्तानी गर्न ढिलाई भएमा आफुले समेत पहल गर्ने मन्त्री बरालले बताउनु भयो । विश्व पर्यटन दिवसको अवसरमा प्रदेश सरकारले ११ देशका राजदुतलाई पोखरामा निम्तो दिई प्रदेशको राजधानि पोखरा क्षेत्रमा पर्यटकीय गतिविधि संचालनको लागि खुल्ला भएको सन्देस समेत दिएको उहाँले बताउनु भयो ।
पुम्दी भुम्दीको विश्व शान्ति स्तुपः देखि पुम्दीकोट, कालाभाङ, नियालेडाँडा हुदै थाप्ले डाँडासम्मको क्षेत्रमा पर्यटकीय गन्तव्यहरु भएकोले त्यसबाट पुम्दी भुम्दीबासीले फाइदा लिनसक्नु पर्ने मन्त्री बरालको भनाई थियो । खानेपानीको साथमा सडक निर्माणमा समेत आफ्नो ध्यान केन्द्रित भएको उहाँले बताउनु भयो । पुम्दी भुम्दीमा शैक्षिक विकासको लागि बृहत बहस आवश्यक भएको बताउदै मन्त्री बरालले अब गुणस्तरिय र प्रविधि मैत्रि शिक्षा आवश्यक भएकोमा जोड दिनुभयो ।
पोखरा २२ का वडा अध्यक्ष मित्रलाल बरालले पुम्दी भुम्दीको एक मात्र बिबाद रहित संस्था खानेपानीको परियोजना रहेको उल्लेख गर्नु भयो । पुम्दी भुम्दी पर्यटकीय केन्द्र भएकोले उहाँ पर्यटनबाट आर्थिक लाभ लिन सकिने उहाँले बताउनु भयो । पुम्दीकोट कोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले बिशाल महादेवको मुर्तिको औपचारिक रुपमा मंसिरमा उद्घाटन गरिने तयारी गरिएको बताउनु भयो ।