ताजा खबर

मुख्यमन्त्री पोखरेल– राष्ट्र संघ नेपाल प्रमुख सारा बेसोलो भेट दीगो विकास लक्ष्य कार्यान्वयनमा जोड

पोखरा ११, असोज

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र संंयुक्त राष्ट्र संघका लागि नेपाल प्रमुख सारा बेसोलो नान्तीबीच आइतबार पोखरामा औपचारिक भेटघाट भएको छ । विश्व पर्यटन दिवसका अवसरमा गण्डकी सरकारले नेपालस्थित राजदूत तथा विकास साझेदार संस्थाका प्रमुखका लागि गरेको विशेष कार्यक्रममा भाग लिन आएकी सारा बेसोलोले मुख्यमन्त्री कार्यालयमै भेटघाट गरेकी हुन् ।

उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले संयुक्त राष्ट्र संघको स्थापना भएदेखि नै नेपाल निरन्तर संलग्न हुँदै आएको स्मरण गराए । सुरक्षा परिषददेखि विभिन्न समितिहरुमा जिम्मेवारी लिएर नेपालले सफलताका साथ काम गर्दै आएको मुख्यमन्त्री पोखरेलले बताए ।
संयुक्त राष्ट्र संघको नेतृत्वमा विश्वमा शान्ति स्थापनाको सवालमा नेपालले महत्वपूर्ण योगदान गर्दै आएको भन्दै उनले राष्ट्र संघकै नेतृत्वमा शान्ति, स्थिरता र समृशिद्ध हासिल हुनेमा नेपाल सदैव प्रतिबद्ध रहेको बताए ।

राष्ट्र संघले नेपालमा मानवीय क्रियाकलापका क्षेत्रमा लैंगिक विकास, मानव अधिकार, दीगो विकास लक्ष्य हासिल गर्नका लागि गरेको सहयोग महत्वपूर्ण रहेको मुख्यमन्त्री पोखरेलले बताए । उनले भने, ‘सुशासनको प्रत्याभूति, संघीयताको कार्यान्वयन र विकासका कार्यमा हाम्रो ध्यान केन्द्रित भएको छ ।’ कोभिडले थला परेको सामाजिक आर्थिक अवस्थालाई पुनरुत्थान गर्न आफूहरु अग्रसर रहेको भन्दै मुख्यमन्त्री पोखरेलले स्वास्थ्य, शिक्षा र समग्र विकास प्रणालीलाई फरक ढंगबाट संबोधन गर्नुपर्ने भनाइ राखे ।

उद्योग, पर्यटन, कृषि आदि क्षेत्रको पुनरुत्थानका लागि प्रदेश सरकारले योजनाहरु तयार गरिरहेको भन्दै मुख्यमन्त्री पोखरेलले दीगो विकास लक्ष्यलाई आन्तरिकीकरण गरी कार्यान्वयनमा लैजान क्रियाशील भएता पनि त्यसलाई हासिल गर्न थप मेहनत गर्नुपर्ने बताए ।

भेटका अवसरमा नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्ले र प्रमुख सचिव डा. दामोदर रेग्मीले प्रदेशका प्राथमिकता र राष्ट्र संघको भूमिकाका बारेमा चर्चा गरे ।
साथमा तस्बिर छन् ।

 

 

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *