ताजा खबर

गण्डकी प्रदेशका सबै उच्च पहाडी क्षेत्रमा टिमुर खेती विस्तार गर्नुपर्नेमा मन्त्री थापाको जोड

पोखरा, ११ असोज

गण्डकी प्रदेशका वन, वातावरण तथा भू–संरक्षण मन्त्री दीपक थापाले यस प्रदेशका सबै उच्च पहाडी क्षेत्रमा व्यवसायिक टिम्मुर खेतीको विस्तार गर्नुपर्नेमा जोड दिनुभएको छ । व्यवसायिक टिम्मुर खेतीले किसानलाई स्वरोजगार बनाउनुका साथै वैदेशिक मुद्रा आर्जनमा पछि सहयोग पुग्ने उहाँले विश्वास गर्नुभएको छ ।

स्याङ्जाको पञ्चमुुलमा गरिएको व्यवसायिक टिमुर खेतीको अवलोकन पछि डिभिजनल वन कार्यालय र सव डिभिजन वन कार्यालयका अधिकारीहरुसँगको अन्तरक्रियामा उहाँले यस्तो योजनामा जोड दिनुभएको हो । ‘हामीमा अझैसम्म पनि सानो सानो कृषि कर्मबाट मनग्ये आम्दानी हुन्छ भन्ने सोचको विकास हुन सकेको छैन ।’ अन्तरक्रियामा उहाँले भन्नुभयो, ‘नागरिकहरु टिमुर खेतीलाई सानो कामको रुपमा लिन्छन्, तर यसको व्यवसायिक खेती र निकासीले अर्थतन्त्रको विकासमा योगदान दिईरहेको हुन्छ ।’

पछिल्लो समय गण्डकी प्रदेशका केही किसानमा व्यवसायिक टिम्मुर खेतीप्रति केही आकर्षण बढेको देखिएको भन्दै उहाँले ११ सय देखि २५ सय मिटर सम्म उचाई भएको सबै भुगोलमा यसको खेती गर्न सके राम्रो वैदेशिक मुद्रा आर्जन पनि हुने बताउनुभयो । यसलाई प्रशोधन गरेर तेल वा कच्चा पदार्थको रुपमा पनि विदेश निर्र्यात गर्न सकिने भएकोले दीगो आम्दानीको लागि उच्च पहाडी भागमा बसोबास गर्नेहरुका लागि यो वरदान सावित हुने बताउनुभयो ।

डिभिजनल बन कार्यालय स्याङजाले पञ्चमुलको थाप्ले क्षेत्रमा १० हेक्टर नीजि जग्गामा करिब १५ हजार १५ हजार टिम्मुरका विरुवा रोपेको छ । कार्यालयका सहायक वन अधिकृत बसन्त केशब अधिकारीका अनुसार उक्त जग्गामा लगाईएको मध्ये ९५ प्रतिशत विरुवा राम्रो देखिएका छन् । उहाँले अबको तीन वर्षपछि ति विरुवाले उत्पादन दिने जानकारी गराउनुभयो ।

विज्ञहरुका अनुसार एक हेक्टर जमीनमा करिब २ देखि ४ हजार केजी टिम्मुर फल्दछ । नेपालमा यसको बजार मुल्य २ देखि ३ सय रुपैंया प्रतिकेजी रहेको छ ।

अन्तरक्रियाका क्रममा डिभिजनल वन कार्यालयका स्याङजाका प्रमुख तोयनाथ पौडेलले कार्यालयले जिल्लाका अन्य क्षेत्रमा टिमुर खेतीको लागि सम्भाव्यता अध्ययन गरिरहेको र कार्यालयले सम्पादन गरिरहेका कामहरुको बारेमा जानकारी गराउनुभएको थियो ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *