ताजा खबर

हेमजा सुइखेतमा घर घरमा पानी हुने आशामा ४ दशक पछि दशैं आएको आभास भएको स्थानियको भनाई

पोखरा १०, असोज

गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पोखरा २५ हेमजा सुइखेत क्षेत्रमा खानेपानी सहितका भौतिक संरचना निर्माणको लागि आवश्यक सहयोग गर्ने बताउनु भएको छ । हेमजा सुइखेतको तिन खोल्से विमिरेघारी खानेपानी उपभोक्ता समितिले निर्माण गर्न लागेको पानी ट्याङकीको आइतबार एक समारोहका बिच शिलन्यास गर्दै मन्त्री बरालले जनताका आधारभूत आवश्यकता अन्र्तगत पर्ने पानी उपलब्ध गराउन प्रदेश सरकारको बिषेश ध्यान जाने बताउनु भएको हो ।

प्रदेश सरकार र स्थानियको सहभागितामा एक करोड ५८ लाखको लागतमा एक सय घनमिटरको पानी ट्याङकी निर्माण हुन लागेकोमा थप रकम आवश्यक भएमा रकम अभावले उक्त ट्याङकी निर्माणको काम नरोकिने मन्त्री बरालको भनाइ छ । स्थानियहरुले विगतका बर्ष देखि माग्दै आएको सुइखेत खोला नियन्त्रण, खोला वारपार गर्ने झोलुङगे पुल लगायतका भौतिक संरचना र हेमजा बासीको महत्वपूर्ण कामहरु सम्पन्न गर्न आवश्यक सहयोग तथा समन्वय गर्ने मन्त्री बरालको भनाई थियो । मन्त्री बरालले भन्नु भयो“ म यहाँको जनप्रतिनिधि भएको नाताले हाल मन्त्री भएर तपाईहरु माझ आए पनि म तपाईहरुको सेवक हुँ, मेरो लागि जनता नै जर्नादन हुन् । ” हाल धेरै प्रकारको घेराबन्दीबाट बच्नुपर्ने अबस्था आएको बताउदै मन्त्री बरालले अहिलेको गठबन्दन सरकारलाई उचाईमा पुराउन सकरात्मक सुझावको आवश्यकता भएको जनाउनु भयो । प्रदेशमा ५ बर्ष भित्र प्रदेशका सवै घरमा एक घर एक धारा अभियान अन्र्तगत उक्त परियोजना समयमै सम्पन्न गर्न तर्फ सवैको ध्यान केन्द्रित हुनुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, स्याङजाका प्रमुख हरिप्रसाद तिमिल्सिनाले केही रकम अभाव हुने हुदा उक्त परियोजना सम्पन्न गर्न प्रदेश सरकारले थप आर्थिक सहयोग गर्नुपर्ने माग गर्नुभयो । ८६ लाख प्रदेश सरकारको र ७१ लाख जनसहभागिता हुने गरी उक्त परियोजना निर्माण हुन लागेको उहाँले बताउनु भयो । अम्बिका मावि सहित १ भन्दा बढी घर घरमा धारा जडान गर्ने लक्ष्य राखिएको प्रमुख तिमिल्सिनाले जनाउनु भयो । हेमजाको तीन स्थानमा हुने खानेपानी परियोेजनामा करिब ४ करोड ९८ लाखको परियोजना रहेको उहाँले बताउनु भयो ।

पोखरा २५ का वडा अध्यक्ष शोभाखर तिमिल्सिनाले खानेपानी, बिद्युत लगायतका केही कार्यालयहरुमा अझै पनि भ्रष्टचारको अड्डा भएको दाबी गरे । आफुले निष्पक्ष र पार्टी भन्दा माथि उठेर काम गर्न खोज्दा पोखरा महानगरले आफ्नो कारण हेमजा क्षेत्रमा कम बजेट विनियोजन गरी उपेक्षा गरेको उहाँले ठुकुवा गर्नु भयो । स्थानिय एवं समितिका सचिव देविप्रसाद अधिकारीले उक्त क्षेत्रमा हाल खानेपानी पाउदा ४० बर्ष पछि बल्ल दशैं आएको जस्तो महशुस भएको बताउनु भयो । लप्सीवोट खानेपानी उपभोक्ता समितिका दीपक थापाले बाटो र सुइखेत खोलाले स्थानियको उठिवास भएको गुनासो गर्नु भयो । मन्त्री बराल जस्ता नेता आवश्यक भएको उहाँको भनाई थियो । समितिका अध्यक्ष तिलकराज अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेकपा एमाले पोखरा २५ वडा कमिटि अध्यक्ष ऋषिराम पौडेल, नेपाली कागेंस पोखरा २५ वडा कमिटि सभापति मधुसुधन त्रिपाठी, नेकपा माओबादी केन्द्र पोखरा २५ का अध्यक्ष माधवशरण पौडेल, सृजनशिल आमा समुहका सचिव गिता अधिकारी, समितिका उपाध्यक्ष निरेस अधिकारी, कार्यक्रम संयोजक रमेश अधिकारी लगायतले करिब ४ दशक पछि उक्त क्षेत्रमा खानेपानी उपलब्ध भएको खुसि व्यत्त गर्दै सुइखेत खोला व्यबस्थापन र पुल निर्माण गर्नुपर्ने माग गर्नु भएको थियो ।

 

Related posts