ताजा खबर

भुतपुर्व खेलाडी मञ्चको अध्यक्षमा पराजुली निर्वाचित

पोखरा ६, असोज

नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भुतपूर्व खेलाडी मञ्चको अध्यक्ष हरि प्रसाद पराजुली निर्विरोध चयन भएका छन ।  पोखरामा आइतबार सम्पन्न भएको मञ्चको एघारौं साधारण सभा तथा सातौं अघिवेशनले अध्यक्ष पराजुली सहितको २१ सदस्यिय कार्य समितीलाई आगामी तिन वर्षका लागि निर्वाचित गरेको हो । नव निर्वाचित अध्यक्ष पराजुली भलिबलका पूर्व अन्तर्राष्ट्रिय खेलाडी समेत हुन भने यस अघि उनी मञ्चको प्रथम उपाध्यक्ष समेत रहेका थिए ।

यसै गरि सम्पन्न अधिवेशनले मञ्चको प्रथम उपाध्यक्षमा दिल बहादुर गुरुङ, द्वितिय उपाध्यक्षमा खेम बहादुर गुरुङ, महासचिवमा कृष्ण तिमिल्सिना, सचिवमा केशव पाठक, कोषाध्यक्षमा महेश पौडेल र सह–कोषाध्यक्षमा हरि बहादुर बरुवाल सर्वसम्मत रुपमा निर्वाचित भएका छन । यस्तै संस्थाको कार्यसमिती सदस्यमा याम बहादुर गुरुङ, दिनेश कुमार श्रेष्ठ, ओम बहादुर गुरुङ, भरत कुमार आले, विश्व तण्डुकार, हरिश्वर पोखरेल, पुष्पा श्रेष्ठ, इन्द्रा मल्ल, शान्ती थापा, राम बहादुर क्षेत्री, गज बहादुर गुरुङ, ज्वाला थापा, क्या. सम्मर बहादुर थापा र रमेश कुमार श्रेष्ठ निर्विरोध चयन भएका छन ।

यस अघि एघारौं साधारण सभा तथा सातौं अघिवेशनलाई उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशको राजधानी पोखरालाई स्पोर्टस हवको रुपमा विकास गर्न प्रदेश सरकारले सोच अघि बढाएको बताए । प्रदेशमा शहासिक खेलकुद संगै अन्य खेलकुदका गतिविधीलाई अगाडी बढाउन प्रदेश सरकारले कार्यक्रमहरु तय गरिने बताउँदै उनले भने–“गण्डकी प्रदेशलाई समृद्धिको अरुपमा अगाडी बढाउन धेरै आयाम छन । त्यस मध्यको एउटा खेलकुद पनि हो । सबै क्षेत्र कोरोनाले थलिएको छ । अब खेलकुदकै माध्यमबाट पर्यटन प्रवद्र्धनमा अगाडि बढ्नुपर्ने हुन्छ ।”

मुख्यमन्त्री नेपालीले गण्डकी प्रदेशलाई साहसिक खेलकुदसँगै फुटबल, भलिबल क्रिकेट जस्ता खेलहरुमा युवापुस्तालाई अगाडी बढाउने उल्लेख गर्दै खेलाडी राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा ‘एक्सपोज’ हुन आवश्यक रहेको बताए । उनले खेलाडी एक्सपोज भएमा मात्रै विश्वमाझ स्वयं खेलाडी र देश चिनिने बताए । उनले भुतपुर्व खेलाडी मञ्चले आयोजना गर्दै आएको पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सहयोग गर्ने तर्फ गण्डकी प्रदेश सरकार संधै सहकार्यका लागि तयार रहने प्रतिवद्धता व्यक्त गरे ।

सो अवसरमा मुख्य मन्त्री नेपालीले पत्रकारिता मार्फत पोखरा म्याराथनलाई योगदान पु¥याएको भन्दै फोटो पत्रकार राम गुरुङलाई नगद १० हजारसहित सम्मान गरे भने पाकिस्तानमा भईरहेको यु–१२ आईटिएफ टेनिसमा संलग्न दर्शिल श्रेष्ठलाई समेत नगद १० हजार सहित सम्मान गरे । मञ्चले पूर्व अन्तर्राष्ट्रिय खेलाडी डम बहादुर पुनलाई समेत खेलकुद क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरेको छ । यसै गरी मञ्चका पूर्व अध्यक्ष प्रा.डा विरेन्द्र सिंह गुरुङलाई समेत उहाँको खेलकुद प्रतिको योगदान गर्दै सम्मान गरेको छ ।

कार्यक्रममा स्वर्गारोहण भएका मञ्चका ९ जना आजिवन सदस्यहरुलाई मरणोपरान्त सम्मान गरेको छ भने कार्यक्रममा मञ्चको आजिवन सदस्य बनेकाहरुलाई आजिवन सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सम्पन्न श्रेष्ठले पोखराको खेलकुद विकासका लागि वाझिएर नभै वाँधिएर अघि बढ्नु पर्ने बताए । उनले अव पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुनु पूर्व स्विमिङ, शुटिङ लगायत सबै पूर्वाधार निर्माणका लागि जोड दिनुपर्ने उल्लेख गर्दै एघारै जिल्लामा राष्ट्रिय खेलकुदको अनुभुती हुने गरी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हनुपर्ने बताए ।

मञ्चका निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङ, जिल्ला खेलकुद विकास समितीका अध्यक्ष तोरण बहादुर बाँनिया, भुतपूर्व खेलाडी मञ्चका सल्लाहाकार अशोक पालिखे, सम्मानित व्यक्तित्व क्या. डाम बहादुर पुन, पोखरेली मञ्च युकेका अध्यक्ष मान प्रसाद गुरुङ लगायतले मञ्चले यस क्षेत्रको खेलकुदमा गरेको उल्लेखनिय योगदानको प्रशंसा गर्दै पोखरा म्याराथनलाई सफल बनाउन सबै एकजुट हुनुपर्ने कुरामा जोड दिएका थिए ।

मञ्चका संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाटको संयोजकत्वमा गठित निर्वाचन समितीका सदस्य महेश गुरुङ र अर्का सदस्य खेमराज सापकोटाले नवनिर्वाचित कार्यसमितीलाई शपथ ग्रहण गराएको थियो । यस अघि अधिवेशनले महासचिव खेम बहादुर गुरुङ र सह कोषाध्यक्ष महेश पौडेले पेश गरेको आर्थिक प्रतिवेदन तथा विधान मस्यौदा समितीले पेश गरेको विधान संंसोधन सम्वन्धि प्रस्तुत प्रस्ताव सर्व सम्मत रुपमा बन्द शत्रले पास गरेको छ । विधान मस्यौदा समितीको संयोजकमा कृष्ण तिमिल्सिना र सदस्यहरुमा हरिश्वर पोखरेल र तिलक केसी रहेका थिए ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *