ताजा खबर

सुकुम्बासी बस्तीको वैकल्पिक व्यबस्थापन नगरेसम्म चलाउन हुदैनः अर्थ मन्त्री बराल

पोखरा २, असोज

गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले सुकुम्बासी बस्तीको वैकल्पिक व्यबस्था नभएसम्म कसैले चलाउन नहुने बताएका छन्। पोखरा ६ घाईघाटको अखिल नेपाल सुकुम्बासी संघले शनिबार आयोजना गरेको श्रद्धान्जली सभामा वोल्दै मन्त्री बरालले बर्षै देखि बस्दै आएको ठाँउबाट सुकुम्बासीहरुलार्ई वैकल्पिक व्यबस्थापन विना कसैले चलाउन वा हटाउन नहुने बताएका हुन्।

नेकपा माओबादी केन्द्र गण्डकी प्रदेशका सचिवालय सदस्य समेत रहेका मन्त्री बरालले माओबादी गरिब, निमुखा, हरुवा, चरुवा र पछि परेको बर्गको पक्षमा भएकोले सुकुम्बासी बस्तीहरु भएको स्थानमा उनीहरुलाई उचित व्यवस्थापन गरेर मात्र अरु काम अघि बढाउन चेतावनी दिए । राज्यले सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने प्रकृयामा रहेको उल्लेख गर्दै मन्त्री बरालले निर्वाचनको मुखमा जो कसैले दिएको मिठा कुरा र झुटा आश्वासनमा नपर्न समेत सुझाव दिए । माओबादीले देशका अति विपन्न, गरिब, दुःखि, हरुवा, चरुवाको पक्षमा आवाज उठाउदै आएको दाबी गरेका मन्त्री बरालले सुकुम्बासी बिरुद्ध कोहि जाहि लागेमा त्यसको बिरुद्ध पार्टीले साथ दिने विश्वास दिलाए ।

फेवातालको ६५ मिटर वरिपरीका घर टहरा भत्काउने बिषयमा राज्यले ३÷४ दशक देखि बस्दै आएका सुकुम्बासीलाई कुनै विपकल्प सहित व्यबस्थापन गर्नुपर्ने मन्त्री बरालको भनाई छ । पोखरा ६ गाईघाट सहितका केही सुकुम्बासी बस्ती हटाउने बिषयमा एमालेले जनभ्रमित पार्दै सुकुम्बासी बस्ती नै हटाउने बिषयमा समेत अगुवाई गरेको मन्त्री बरालको भनाई छ । उनले भने “ मान्छे भएर मान्छेको व्यवहार नगर्ने, अनि फेरी साखल्ले पल्टेर सुकुम्बासी बस्तीमा यति जो कोही राजनीति गर्न आउछन भने उनीहरुलाई कस्तो व्यवहार गर्ने त्यो तपाईहरुले पक्कै जान्नु नै भएको छ । ” माओबादी केन्द्र कास्कीका सदस्य एवं पर्यटन व्यवसायी अग्नी कंडेलले सुकुम्बासीहरुको हकहितमा माओबादीले लड्दै आएको दाबी गरे । जर्नादन शर्मा उर्जा मन्त्री हुदा सुकुम्बासी बस्तीमा बिद्युत जडान भएको, हालका उर्जा मन्त्री पम्फा भुषालले न्यूनतम २० यूनिट भन्दा कम बिद्युत खपत गर्नेलाई निशुल्क बिद्युत सेवा प्रयोग गर्न पाउने सुविधा ल्याएको उनको दाबी थियो ।

अखिल नेपाल सुकुम्बासी संघ गण्डकी प्रदेशका सह—इन्चार्ज हर्क बहादुर बि.क.ले सुकुम्बासी बस्तीको हकहितमा माओबादीले अगुवाई गर्दै आएको दाबी गरे । गाईघाट क्षेत्रमा गलत प्रबृत्तिका केही संगठनको आँखा लागेको उनको गुनासो थियो । अखिल नेपाल सुकुम्बासी संघ, पोखरा ६ घाईघाटका अध्यक्ष गोविन्द गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सेते वि.क., कृष्ण थापा, वल बहादुर बि.क., चक्र बहादुर बि.क.को तष्विरमा मन्त्री बराल सहितका सहभागिहरुले पुष्पा गुच्छा अर्पण गरेका थिए । सुकुम्बासीको हकहितमा लाग्दै आएका उनीहरुको स्मृतिमा उक्त कार्यक्रम गरिएको संघले जनाएको छ । उक्त स्थानमा विगत २०४० साल देखि सुकुम्बासी बस्दै आएको अध्यक्ष गुरुङले दाबी गरे । 

Related posts