
पोखरा २५, भदौं
पोखरा क्षेत्रका पर्यटन व्यवसायीहरुले पर्यटकीय गतिविधि संचालन गर्न पाउनु पर्ने माग गरेका छन्। शुक्रबार पोखरामा सम्पन्न भएको रेष्टुरेण्ट एण्ड वार एशोसिएसन अफ नेपाल (रेवान) पोखराको २७ औं वार्षिक साधारण सभाका उद्घाटन सत्रमा व्यवसायीहरुले कोरोनाको कहर कम भए संगै अब पर्यटकीय गतिविधि संचालन गर्न पाउनु पर्ने माग गरेका हुन।
पोखराका पर्यटन व्यवसायीहरुको छाता संस्था पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले आउदो असोजको पहिलो साता देखि नै पर्यटन सहित अन्य गतिविधीहरुपनि सञ्चालनको अनुमति पाउनु पर्ने माग गरेकाछन्। कोरोना प्रभावका कारण सुस्त अवस्थामा रहेको पर्यटन क्षेत्र अब चलायमान बनाउनुपर्ने बताएका उनले कोरोना संक्रमण घटदो अबस्थामा रहेकोले अब पर्यटन क्षेत्रका सबै खाले गतिविधी सञ्चालनको अनुमति दिनुपर्ने बताए ।
उनले भने “अहिले यहाँका होटल तथा रेष्टुरेण्टहरु विस्तारै खुल्दै गएका छन, पर्यटन सम्बध सम्पूर्ण संघसंस्थाहरुविच सहकार्य र हातेमालो गर्दै अघि बढ्नु पर्छ । ” परिषद् अन्तर्गतका सबै संघसंस्थालाई स्वास्थ्य मापदण्डको पालना गर्दै व्यवसाय सञ्चालन गर्न आग्रह गर्दै अध्यक्ष भट्टराईले व्यवसायीहरुलाई बैक तथा वित्तिय संघसंस्थाले अनावश्यक झमेलामा पार्न थालेको गुनासो गरे ।
कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्ड, गण्डकीका प्रमुख काशीराज भण्डारीले कोरोनाका कारण लामो समय शिथिल अवस्थामा पुगेको पर्यटन क्षेत्रको मुहार अब फिर्नेमा आशा व्यक्त गरे । पोखरा महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष जगतबहादुर पहारीले वडाभित्र भएका विकासे गतिविधीबारे प्रकास पार्र्दै आगामी दिनहरुमा गर्नुपर्ने कामका बारेमा अवगत गराए ।
उद्घाटन सत्रमा संस्थाका महासचिव विकाश भट्टराईले संस्थाका प्रगति विवरण प्रस्तुत गरे । रेवान पोखराले २२ औं पोखरा सडक महोत्सव, कर शिक्षा कार्यक्रम, कोभिड–१९ को असरमा परेकाहरुलाई गरिएको राहत वितरण, खोप कार्यक्रम, नयाँ वर्षको शुभकामना कार्यक्रम, विभिन्न क्षेत्रलाई प्रदान गरिएको आर्थिक सहयोग, मिनि सडक महोत्सव, तालिम, पोखराको प्रवद्र्धनात्मक कार्यक्रम लगायत आफ्नों प्रतिवेदनमा प्रस्तुत गरेका थिए ।
सो अवसरमा संस्थाका गतिविधीहरुमा सहयोग गर्ने विभिन्न सहयोगी संघसंस्था तथा संस्थामा आवद्ध भएका नयाँ व्यवसायीहरुलाई स्वागत एवं सम्मान गरिएको थियो । रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालको अध्यक्षतामा भएको समारोहमा संस्थाका प्रथम उपाध्यक्ष नरेश भट्टराईले समेत वोलेका थिए ।