ताजा खबर

पोखराका नागरिक अभियन्ताद्वारा एमसिसीको विरोध

पोखरा, २० भदौ

पोखराका नागरिक अभियन्ताले प्रस्तावित अमेरिकी सहयोग एमसिसीको विरोध जनाउँदै यसको खारेजीको माग गरेका छन् । उनीहरुले सहयोगको घुम्टो ओढेर आएको यो गलपासो हो भन्दै अफ्गानिस्तानमा पराजित अमेरिका यसको प्रयोगमा नेपाललाई नयाँ रणक्षेत्र बनाउन उद्दत रहेको ठहर गरेका छन् ।

आइतबार विज्ञप्ति जारी गर्दै एमसिसीका उच्च अधिकारीको आसन्न नेपाल भ्रमण र प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तागठबन्धनका शीर्षनेताहरुसँग एमसिसी संसदबाट पारित गराउनुपर्ने कुरा उठाएको समाचारले आमदेशभक्त नेपाली जनतालाई त्रसित बनाएको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘एमसिसी अमेरिकी नयाँ सैन्य रणनीतिको अभिन्न अंग हो भन्ने कुरा स्वयं अमेरिकी राजनीतिक, कुटनीतिक एवं सैन्य उच्च पदाधिकारीले वासिंटन र काठमाडौंमा खुला अभिव्यक्त गरेको कुरा हो । यो अमेरिकी इण्डोप्यासिफिक सैन्य रणनीतिसँग जोडिएको छ । नेपालमा अमेरिकाको कानुन र शासन लागु हुने यो खतरनाक एमसिसी परियोजना नेपाललाई नवउपनिवेशमा परिणत गर्ने र छिमेकी मित्रराष्ट्रको शान्ति, स्थिरता र समृद्धि रोक्न नेपाली भूमि आधार क्षेत्र बनाउने लक्ष्य लिएर आएको छ ।’

साथै विज्ञप्तिमार्फत वैदेशिक आर्थिक एवं प्राविधिक सहयोग नेपाललाई नचाहिने होइन, पूर्वाधार विकासको लागि सहयोग खाँचो छ तर सहयोगको घुम्टो ओढेर आएको यो एउटा गलपासो भएकोले सख्त विरोध गर्दछौं भनिएको छ ।  विरोध जनाउनेमा नागरिक अभियन्ता वरिष्ठ अधिवक्ता तिलक पराजुली, रामबहादुर पौडेल, शशि तुलाचन, विष्णुहरि अधिकारी, गोकुलबहादुर कार्की, सूर्यनाथ पहारी, पवित्रा जिसी, काजीबावु श्रेष्ठ छन् ।

यसैबीच, एमसिसीको विरोधमा पोखरा सहिदचोकमा सोमबार धर्ना दिने कार्यक्रम रहेको रामबहादुर पौडेलले जानकारी दिए । कार्यक्रम बिहान १० देखि ११ बजेसम्म हुनेछ ।

Related posts