ताजा खबर

वालिङ देखि पर्वत सिमानामा जोड्ने सडक स्तरोन्नती गर्न पहल गर्छुः मन्त्री बराल

पोखरा १२, भदौं

गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले स्याङजाको वालिङ बजार देखि पर्वतको सिमाना जोड्ने सडक स्तरोन्नतीको लागि पहल गर्ने बताएका छन्। शनिबार वालिङ देखि गहते हुदै पानीट्याङसम्म पुगेका मन्त्री बराल समक्ष स्थानियले आफ्नो क्षेत्रको विकासको पहिलो पूर्वाधार सडक स्तरोन्नती अति आवश्यक भएको उल्लेख गर्दै बजेट व्यबस्थापन गर्न माग गरेसंगै उनले सडक स्तरोन्नती गर्न पहल गर्ने बताएका हुन्।

यस चालु आर्थिक बर्षमा बजेट विनियोजन भएकोले यस बर्ष केही गर्न नसके पनि अर्को बर्ष केही न केही सहयोग गर्ने भएको मन्त्री बरालले बताएका छन्। स्याङजाका प्रदेश सांसद एवं विधान समितिका सभापति मोहन रेग्मीले गत बर्ष परेको उक्त सडकको बजेट यस चालु आर्थिक बर्ष भने काटिएको गुनासो गरे ।

नेपाल स्वयम सेवक संजालका अध्यक्ष केदारनाथ गैरे, उपाध्यक्ष विशाल पराजुली, नेकपा माओबादी केन्द्र वालिङका अध्यक्ष तारा भुषाल सहितको टोलीले वालिङ, गहते, पानी ट्याङकी, डुम्रे भन्झ्याङ हुदै पर्वतको हुवाससम्मको करिब २० किलोमिटर सडक पिच गर्न मन्त्री बराल समक्ष आग्रह गरेका हुन् । ठाँउ ठाँउमा सडक अबरुद्ध हुने भएकोले स्थानिय युवा संजालका पदाधिकारीहरुले पहिरो पन्छाउने तथा सडक संचालनको लागि एक हुदै काम गर्दै आएका छन्।

यसैबिच, मन्त्री बरालले शहिद तथा वेपत्ता परिवारजनलाई भेटेर उनीहरुले देखाएको बाटो अवलम्बन गर्ने बताए । शहिदहरु भन्दा पनि वेपत्ता परिवारजनलाई हरेक बर्ष आउने चाड पर्वले झस्काउने गरेको उल्लेख गर्दै मन्त्री बरालले शहिद तथा वेपत्ता परिवारजनलाई राज्यले छिट्टै परिचय पत्र उपलब्ध गराउने बताए ।

 

 

Related posts