
पोखरा ३०, साउन
गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङ (दिपक मनाङे) ले यूवा तथा खेलकुद मन्त्रालयले प्रदेशको सहासिक खेलकुदको गन्तव्यको रुपमा अघि बढाउने बताए । कास्की जिल्ला तेक्वान्दो संघको शनिबार पोखरामा सम्पन्न भएको १२ औं साधारण सभा तथा पाँचौ अधिवेशनको उद्घाटन गर्दै मन्त्री मनाङेले प्रदेशमा सहासिक खेलकुद गतिविधि हाल संचालन हुदै आएकोले त्यसलाई सरकारले सहासिक खेलकुद गतिविधिलाई गन्तव्यकै रुपमा अघि बढाउने बताएका हुन्।
सामुदायिक विद्यालयमा खेलकुदको गतिविधिलाई अघि बढाउन विशेष योजनाहरु ल्याउने जनाएका उनले विगतको सरकारलाई भन्दा अहिलेको सरकारलाई खेलकुदबारे वुझाउन कठिन भएको गुनासो गरे । उनले भने “ अहिलेका मन्त्रीहरुलाई खेलकुदको बारेमा बुझाउन मलाई निकै सकश परेको छ, पहिलेको सरकारमा प्राय सबै मन्त्रीहरु खेलकुद वुझेको हुनुहुन्थ्यो, तर अहिले एउटै कुरा मुख्यमन्त्री देखि मन्त्रीसम्म वुझाउँदै हिड्नु परेको छ । ”
पोखरा रंगशालामा मार्शल आर्टस प्रशिक्षण केन्द्रको निर्माणको योजना अघि सारिएको बताएका मन्त्री मनाङेले बजेटका कारण दुई तले प्रशिक्षण भवन बनाउने जनाए । मन्त्री गुरुङले मन्त्रालयमा प्राप्त ८ करोडको बजेटलाई बढाएर ५० करोड बनाउन सफल भएको दाबी गरे ।
प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङले सवै वर्ग र समाजको खेलकुद संस्कृतीको विकास गर्न आवश्यक भएको बताए । हालै उपाध्यक्षमा नियुक्ति भएका उनले प्रदेशको खेलकुद विकासमा आफुहरु कटिवद्ध भएर लाग्ने जनाए ।
प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले परिषदले हाल उत्कृष्ट खेलाडीहरुको उत्पादन, सवैका लागि खेलकुद, शिप अभिवृद्धी, र पूर्वाधार विकास गरी चारवटा कुरालाई मुख्य गरी अघि बढाएको बताए ।
नेपाल तेक्वान्दो संघका उपाध्यक्ष हरिश्वर पोख्रेलले ४० वर्षको इतिहासमा तेक्वान्दो खेलको विकास हुन नसक्नुको पछाडी राजनिती नै मुख्य जिम्मेवार रहेको गुनासो गरे । लगातार करिब डेढ दशक कास्कीको तेक्वान्दो संघको अध्यक्षमा रहेका जगन बहादुर गुरुङले आफ्नो कार्यकालमा सहयोग गर्नेहरु प्रति आभार व्यक्त गरे ।
सो अवसरमा कास्की जिल्ला तेक्वान्दो संघले तेक्वान्दो खेलमा अनवरत रुपमा सहयोग गर्ने संघकी निवर्तमान द्वितिय उपाध्यक्ष तथा प्रदेश खेलकुद परिषद गण्डकीकी सदस्य निर्मला बराल, निवर्तमान प्रथम उपाध्यक्ष राजु श्रेष्ठ र निवर्तमान कार्य समिती सदस्य भुपाल सिंह गुरुङलाई सम्मान गरिएको थियो ।
सोही अवसरमा कास्की जिल्लामा रहेर विभिन्न डोजाङमा प्रशिक्षण गराइरहेका १४ जना प्रशिक्षकहरुलाई करिव ४ लाख बराबरको खेल सामाग्री हस्तान्तरण गरिएको थियो । कास्कीमा हाल ३२ डोजाङमा करिब २ हजार ५ सय खेलाडी प्रशिक्षणमा रहेको बताइन्छ ।
यसैबिच, कास्की जिल्ला तेक्वान्दो संघको अध्यक्षमा कुमार गुरुङ सर्वसम्मत रुपमा निर्वाचित भएका छन । संघको शनिबार सम्पन्न १२ औं साधारण सभा तथा पाँचौ अधिवेशनले गुरुङलाई अध्यक्ष पदमा सर्वसम्मत रुपमा निर्वाचित गरेको हो । संघको उपाध्यक्षमा कुलचन्द्र शर्मा, सचिवमा दिपेन्द्र पाहारी, कोषाध्यक्षमा किरण गौतम चयन भए भने समितिको अन्य सदस्यहरुमा प्रितम कुवर, अरुण माझी, रेख माया गुरुङ, कृष्ण महर्जन र निशान कार्की सर्व सम्मत रुपमा निर्वाचित भएका हुन्।