
पोखरा । नेपाल बिकास समाजले पोखरा महानगरपालिकामा सरसफाईकर्मीहरुलाई कोभिड १९ बाट बच्न आवश्यक स्वास्थ्य सामाग्री सहित खाद्यन्न सहयोग गरेको छ।मंगलबार पोखरा महानगरपालिकाको दमकल कार्यलयमा एक कार्यक्रमका विच महानगर उपमेयर मन्जुदेवी गुरुङको प्रमुख आतिथ्यतामा ६५ जना सरसफाइ कर्मीहरुलाई बुट र रेनकोट एक÷एक थान,पन्जा र मास्क दुई दुई जोर , मन्जन र साबुन सहित खाद्यन्न सामाग्री हस्तारन्तरण गरिएको हो ।
उक्त कार्यक्रममा महानगर उपमेयर गुरुङले अन्य समयमा पनि सरसफाईकर्मीको क्षेत्र आफैमा जोखिम पूर्ण रहेको र पछिल्लो समय कोभिड १९ को संक्रमणले अझ जोखिम बढाएको बताउँदै सरसफाईकर्मीका लागि स्वास्थ्य तथा राहत सामाग्री वितरण गरेकोमा संस्थालाई धन्यवाद ज्ञापन गरिन् ।
नेपाल विकास समाज कार्यकारी निर्देशक डा श्वेता कोइरालाले सरसफाईकर्मीहरु कोभिड १९ को संक्रमणबाट सबै भन्दा जोखिममा रहने भएकाले अनिवार्य रुपमा स्वास्थ्य सुरक्षा सामाग्रीको प्रयोग गर्न र स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गर्न आग्रह गरिन् । ह्युमन प्राक्टिस फाउण्डेशन र फ्लाईङ्ग एडको साझेदारीमा नेपाल बिकास समाजले सो सामाग्री हस्तान्तरण गरेको हो ।
नेपाल बिकास समाजले जनस्वास्थ्यका क्षेत्रमा काम गदै आइरहेको छ । कास्कीका रुपा गाउँपालिका, सहितका स्थानीय तहहरुमा अस्पतालमा चिकित्सक व्यबस्थापन गर्नुका साथै टोलटोलमा पुगेर नागरिकहरुको स्वास्थ्य परिक्षण गर्दै आइरहेको छ । संस्थाले रुपा संगै साविक लेखनाथ नगरपालिका , स्याङ्जाको विरुवा गाउँपालिका र गोरखाको पालुङ्टारमा जनस्वास्थ्यका क्षेत्र काम गर्दै आइरहेको छ ।