पोखरा ९, साउन
गण्डकी प्रदेशमा करिब एक महिना पछि मात्र मन्त्रि मण्डलले पूर्णता पाएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले एक महिना पछि माओबादी केन्द्र र कांग्रेसका ३÷३ मन्त्री सहित मन्त्री मण्डल विस्तार गरेसंगै मन्त्री मण्डलले पूर्णता पाएका हो ।
माओवादी केन्द्रबाट दलका उपनेता रामजी प्रसाद बराल जीवनले अर्थ मन्त्रालय, माओबादीका चन्द्रबहादुर बुढाले भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालय र माओबादीकै दीपक चर्ती मगरले वन, वातावरण तथा भू–संक्षण मन्त्रालय सम्हालेका छन्।
त्यसै गरी शहरी विकास तथा यातायात मन्त्रीमा कांग्रेसका विन्दुकुमार थापा, आन्तरिक मामिला तथा कानुन मन्त्री, मेखलाल श्रेष्ठ, शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकास मन्त्रालय र मणिभद्र शर्मा पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवार सम्हालेका छन्।
कांग्रेसका कुमार खड्काको जिम्मेवार हेरफेर भएको छ । उनलाई हाल भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा दिइएको छ । यस अघि उनीले शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकास मन्त्रालयको जिम्मा सम्हालेका थिए ।
माओवादीबाट मधुमाया अधिकारी यसअघि नै स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेकी छन भने जसपाबाट हरिशरण आचार्य ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बनेका छन् । त्यसै गरी स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) युवा तथा खेलकुद मन्त्रालयले जिम्मा सम्हालेका छन्। उनी तेश्रो पटक मन्त्री भएका हुन्।
नवनियुक्त मन्त्रीहरुलाई गण्डकी प्रदेश प्रमुख सीता कुमारी पौडेलले सपथ गराएकी थिइन्। सपथ ग्रहण कार्यक्रममा प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, मन्त्री मधुमाया अधिकारी, मन्त्री राजीव गुरुङको सहभागिता रहेको थियो भने जसपाबाट मन्त्री भएका हरिशरण आचार्य सपथ ग्रहणमा सहभागि भएनन्। मन्त्रीहरुलाई मुख्यमन्त्री पोखरेलले खादा लगायर बधाई समेत दिएका थिए ।