खेलकुदलाई घर घरसम्म पुराउनु पर्नेमा वक्ताको जोड, पोखरामा पनि ओलम्पिक दिवश मनाइयो

डि.एन.बी.
पोखरा ५, असार

खेलकुदलाई हरेक घर घरसम्म पु¥याउनु पर्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन्। अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा शनिबार पोखरामा आयोजित आर्चरी खेल प्रर्दशनी कार्यक्रममा वोल्ने वक्ताहरुले खेलकुदलाई हरेक घर घरसम्म पु¥याउनु पर्नेमा जोड दिएका हुन्।

नेपाल आर्चरी संघको आयोजना, नेपाल ओलम्पिक कमिटी स्पोर्टस फर अल कमिसन गण्डकीको तत्वाधान तथा गण्डकी प्रदेश खेलकुद परिषदको सहकार्यमा पोखरा रंगशालामा आयोजित समारोहमा वक्ताहरुले खेलकुदलाई जिल्ला, प्रदेश, राष्ट्रिय अन्तराष्ट्रिय हुदै अन्य अन्तराष्ट्रिय देखि ओलम्पीकसम्म सहभागि हुने गरी सम्भावना भएका खेलाडीहरुलाई अवसर दिनु पर्ने बताएका छन्।

राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले खेलकुद विकासमा एक अर्कोमा टिका टिप्पर्ढी गर्नु भन्दा आ—आफ्नो ढंगले काम गर्नुपर्ने बताए । गण्डकी प्रदेशका विना विभागिय मन्त्री एवं पूर्व मन्त्री खेलकुद मन्त्री राजीव गुरुङ( दीपक मनाङे) ले एकतर्फी कसैका कुरा सुनेर आफुहरुलाई व्यक्तिगत रुपमा विभिन्न आरोप लगाउनु निकै दुःख लाग्दो कुरा भएको बताए । उनले भने “ अब हाम्रो ध्यान नवौं राष्ट्रिय खेलकुदमा हुनु पर्छ, जसरी हामीले हतार हतारमै १३ औं दक्षिण एशियाली खेलकुद (साग) पोखरामा केही खेलहरु सम्पन्न गर्न सवैको साथ पायौं भोलिको दिनमा पनि उस्तै सहयोगको अपेक्षा गरेका छौं । ”

गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिब तेज बहादुर गुरुङले खेलकुदलाई हरेक घर घरमा पुराएसंगै चलायमान बनाउनु पर्ने बताए । खेलकुदमा खेल मात्र नभई खेल संस्कार, अनुसासन हुनुपर्ने उनले बताए । विश्वमा शान्तीको स्थापनाका लागि ओलम्पिक अभियान अपरिहार्य रहेको बताउदै उनले कुनै पनि राष्ट्र र समाजको विकासको मापन समेत खेलकुदले गर्ने दाबी गरे । नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष रहेका उनले सवैलाई खेलकुद विकासका लागि ओलम्पिक अभियानमा एक जुट हुन आव्हान गरे । सो अवसरमा स्पोर्टस् फर अल कमिसन गण्डकीका संयोजक तथा अग्रज खेलाडी खड्ग बहादुर रानाभाटले कुनै पनि देशको पहिचान गराउन खेलकुदले महत्वपूर्ण भुमिका हुने दाबी गरे । खेलाडीहरुको सधै भन्दा ठुलो पर्व र आफ्नो कसी मापन गर्ने अन्तिम बिन्दु ओलम्पिक भएको उनले जनाए ।

नेपाल आर्चरी संघका वरिष्ठ उपाध्यक्ष बसन्त थकालीको अध्यक्षतामा भएको कार्यक्रममा संघका केन्द्रिय सचिव तथा प्रदेश खेलकुद परिषदका सदस्य गण्डकी योगेन्द्र शेरचन लगायतले वोलेका थिए । सो अवसरमा १३ औं साग तथा आठौं राष्ट्रिय खेलकुदका पदकधारी खेलाडी, ओलम्पिकका लागि वाइल्डकार्डका लागि पोखरामा प्रशिक्षणरत खेलाडीहरुले प्रदर्शन खेल समेत गरेका थिए । वाइल्डकार्डको पर्खाइमा रहेका दुई खेलाडी तिलक पुन मगर र ज्ञानु अवाले, ११ औं सागका स्वर्ण पदक विजेता अशिम शेरचन, राष्ट्रिय खेलाडी द्वय सुमन गुरुङ र करुण बराल, आठौंकी स्वर्ण पदक विजेता अनुश्का शेरचन, १३ औं सागकी पदक विजेता रश्मी दर्लामी, आर्चरी प्रशिक्षक कृष्ण माया स्याङतान र राष्ट्रिय जज सञ्जिवमान तुलाधर रहेका थिए । कोरोना महामारीका बाबजुत आफुहरुले हाल पोखरामा प्रशिक्षण गर्दै आएको प्रशिक्षक स्याङतानले बताइन्। हाल पेरिसभएको ओलम्पिकका लागि वाइल्डकार्ड छनौट खेलमा कोरोना सहित अन्य कारणले सहभागि हुन नपाउदा आफुहरु निकै दुःख लागेको खेलाडी अवाले र मगरले गुनासो गरे ।

Related posts