ताजा खबर

पोखरामा पर्यटन बसपार्क बनेसंगै बसहरु व्यबस्थापन गर्न सुरु

डि.एन.बी.
पोखरा १, असार

पोखरामा नयाँ प्रविधिको पर्यंटक बस पार्क हालै निर्माण भएसंगै पर्यटक बसहरु व्यबस्थापन गर्न सुरु गरिएको छ । पर्यटन विभागले पोखरामा पर्यटक बस निर्माण हालै निर्माण गरेसंगै आफुहरुले सडक छेउछाउमा राख्दै आएका बसहरुलाई हाल बसपार्कमा बसहरु व्यबस्थापन सुरु गरिएको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए ।

पोखरामा व्यबस्थित पर्यटक बसपार्क नहुदा पोखरा आउने पर्यटक र आफुहरुलाई निकै समस्या हुने गरेको अबस्थामा पर्यटक बसपार्क बनेसंगै पोखराको छुट्टै पहिचान हुने भएको उनले जनाए । अध्यक्ष सिग्देलले भने “ हामीले पोखरामा पर्यटक बस पार्क बनाउन धेरै पटक प्रयास गरेका थियौं, तत्कालिन पर्यटन मन्त्री रविन्द्र अधिकारीको पहलमा यो सम्भाव भएको हो, उहाँलाई हामीले स्मरण गर्नुपर्छ । ” पर्यटन विभागले पोखरा महानगरलाई उक्त बसपार्क हस्तान्तरण गरेसंगै उक्त बसपार्क आफुहरुले सौन्दर्यकरण गर्दै निश्चित रकम राज्यलाई दिने गरी स्वामित्व लिन चाहेको अध्यक्ष सिग्देलले जनाए । पोखराका पर्यटन व्यवसायीहरुको छाता संस्था पोखरा पर्यटन परिषदले हाल एक करोड ६० लाखको लागतमा पर्यटक बस पार्कको सौन्दर्यकरणको लागि महानगरमा आफुहरुले प्रस्ताव पेश गरेको अध्यक्ष सिग्देलले जनाए ।

बसपार्क भित्र पर्यटकहरुको लागि कफि सप, गिफ्ट पसल, पर्यटक प्रहरी कक्ष, गार्डेन लगायतको संरचना र दैनिक सरसफाई गर्नुपर्ने उनले जनाए । स्थानीय सुक माया परियारले आफ्नो घर अगाडी व्यबस्थित पर्यटक बसपार्क बनेकोमा खुसि भएकी छन्। धेरै बर्ष देखि हिउँदमा धुलो र पानी पर्दा हिलो हुने बसपार्क अब भने धेरै सहज हुने उनले जनाइन्।

पोखरा महानगरपालिका–७, राष्ट्र बैंकचोक नजिक पर्यटन विभागको लगानीमा पोखरामा रिजिटपेमेन्ट (ढलान) संरचनामा पर्यटक बसपार्क निर्माण कार्य ९५ प्रतिशत सम्पन्न भएको विभागका इन्जिनियर सचिन्द्रकुमार यादवले बताए । विभागले आशिष–सिएम–मिसन जेभीलाई ठेक्का सम्झौता गरे पछि कोरोनाले गर्दा थपिएको समय सिमा भित्र उक्त पर्यटक बसपार्क निर्माण कार्य सम्पन्न भए पनि अन्तिम केही फिनिसिङको काम बाँकी रहेको उनले जनाए । पर्यटन विभागले नेपालमै पहिलो पटक ७ करोडको लागतमा पर्यटक बस पार्क बनाएको यादवले बताए । करिब ४० वटा पर्यटक बस सहित केही ट्याक्सी र माइक्रोवस समेत पार्किङ गर्न मिल्ने गरी चारै तर्फ कम्पाउण्ड सहितको बसपार्क निर्माण गरिएको ई.यादवले बताए । उनका अनुसार बसापर्क भित्र ८ वटा सटर सहितको सौचालय, गार्डेन, प्रतिक्षालय, बसपार्कमा सोलार प्यानल वोर्ड, दुई वटा गेट, पर्खाल सहितको लगायतका संरचना समेत बनेको छ ।

पोखरा पर्यटन बस पार्कको करिब एक प्रतिशत जसो अन्तिम फिनिसिङको मात्र काम बाँकी रहेको निर्माण कम्पनीका निर्देशक शान्तकुमार श्रेष्ठले बताए । उनका अनुसार कम्पनीले १ सय ३० मिटरको लम्वाई र ५० देखि ७० मिटरसम्मको चौडाईमा रिजिटपेमेन्ट (ढलान) गरेको छ भने उक्त ढलान करिब ८ इन्चको रहेको छ । उक्त कम्पनीले करिब दुई बर्ष अघि उक्त बसपार्क निर्माण गर्न सुरु गरेको थियो । उक्त बसपार्क पर्यटन विभागलाई बुझाएको १३ महिनासम्मको कम्पनीले ग्यारेन्टी गर्ने भएको छ ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *